भक्तपुरको क्यान्सर हस्पिटलमा उपचाररत मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर—६ का दीपेश दर्लामी मगर ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर—६ का दीपेश दर्लामी मगर भक्तपुरको क्यान्सर हस्पिटलमा उपचाररत छन् । थाईमोमा क्यान्सर रोगका कारण मृत्युसँग लडिरहेका मगरलाई थप उपचारका लागि रकम अभाव भएपछि उहाँको परिवार चिन्तित बनेको छ । उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेको हो ।

विश्वनिकेत माविमा कक्षा १२ मा अध्ययनरत दीपेशलाई मुटु र कलेजोको बीच थाईमोमा क्यान्सर भएपछि परिवारजनले लाखौं खर्च गरिसकेका छन् । टेकु हस्पिटल, टिचिङ हस्पिटल हुँदै नेपाल क्यान्सर हस्पिटलमा उपचार सम्भव नभएपछि हाल उनको काठमाडौंस्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको दीपेशका दाइ तुलराज दर्लामी मगरले बताउनुभयो ।

‘खोकी लाग्ने, छाती दुख्ने भएपछि उपचारका लागि टेकु हस्पिटल लगेका थियौं’, दीपेशका दाइ तुलराजले भन्नुभयो, ‘डाक्टरले सामान्य हो भन्दै औषधी दिए । केहि महिनापछि जटिल भइसकेछ । अनि नेपाल क्यान्सर हस्पिटलमा शल्यक्रिया गर्दा थाईमोमा क्यान्सर भएको पुष्टि गरिदियो । उपचार गर्दा एक दिनमै करिब एक लाख खर्च भएको थियो । त्यसपछि नसक्ने भएर भक्तपुर क्यान्सर हस्पिटलमा लगेर उपचार गर्न सुरु गरेको २ वर्ष भइसकेको छ ।’

सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका दीपेशका दाइले भाइको उपचारमा आर्थिक सहयोग जुटाइदिन सबैसमक्ष आग्रह गर्नुभएको छ । दीपेशको उपचारका लागि कैलाश गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

हाल दीपेश बचाउ अभियान सुरु गरिएको छ । अभियान सुरु गरेपछि कैलाश गाउँपालिका—६ का ईन्द्रमान वाइवा (हाल कोरिया)ले २० हजार, थाहा नगरपालिका—७ का लालबहादुर गोले (हाल मलेसिया)ले ८ हजार र अनिल श्रेष्ठ (धादिङ)ले २ हजार सहयोग गर्नुभएको तुलराजले जानकारी दिनुभयो । विभिन्न दाताहरुले गरेको सहयोग गरिरहेको दीपेशले बताउनुभयो । अभियानअन्तर्गत् अहिले चन्दा रसिद छपाएर आर्थिक संकलन गर्न सुरु गरिएको छ । हालसम्म ४० हजार रकम उठेको परिवारले बताएको छ ।