विश्वव्यापी महामारी कोरोना बिस्तारै कम हुँदै गएको छ । नेपालमा यसको प्रभाव न्यूनीकरणतर्फ उन्मुख छ । पछिल्लो समय कोरोनाविरुद्धको खोपको प्रभाकारिताले हुनसक्छ, संक्रमितको संख्या निकै कम हुँदै गएको हो । देशभर नै एक हप्तादेखि हजारभन्दा कमको संख्यामा संक्रमित थपिएका छन् भने निको हुनेको दर बढेको छ । यी तथ्यलाई विश्लेषण गर्दा कोरोना नियन्त्रण हुँदै गएको भन्न सकिन्छ । यसका लागि पछिल्लो समय खोप वितवरणमा भएको तिव्रता र व्यवस्थापनमा चुस्तता नै हो । महामारी नियन्त्रणमा राज्यका तर्फबाट निकै अप्ठेरो परिस्थिति पार गर्दै हाल खोपको व्यवस्थापनपछि संक्रमितको संख्यामा न्यूनीकरण हुँदै गएको हो । तर खोप लगाउँदैमा महामारी सकिँदैन, व्यक्तिका आचरणमा महामारी भर पर्नेछ ।

दैनिक कोरोना संक्रमणको दरमा कमी आएसँगै नागरिकमा लापर्वाह गर्ने प्रवृत्ति बढेको छ । महामारी कम हुनमा खोपको व्यवस्थापनका अतिरिक्त नागरिकको अनुशासित व्यवहार मुख्य कारण बनेको तथ्यलाई यतिबेला सबैले बिर्संदै गएको छ । सामाजिक जीवनलाई सहज बनाएर सबै क्षेत्र खुला गर्दा पनि नागरिकले स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गरिरहँदा कोरोना संक्रमण कम हुँदै गएको यथार्थ हो । तर अब अनुशासन उल्लंघन बढ्दै जाने हो भने संक्रमणको दरमा पनि वृद्धि हुने पक्का छ । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यकर्मीहरुले होशियारी अपनाउन गरेको बारम्बारको अनुरोध यतिबेला सुनुवाई नै हुन छोडेको छ । यस्तो अवस्थामा फेरि महामारीको तेस्रो लहर आउन सक्नेतर्फ सबै सचेत हुन जरुरी छ ।

नेपालीहरुको ठूलो चाड दशैं भर्खर सकिएको छ भने तिहार र छठ पर्व आउँदैछन् । मानिसको भिडभाड हुने पर्वहरु अझै बाँकी भएकाले कोरोनाको महामारीबारे अनुमान गर्न नसकिने परिस्थिति छ । दशैंमा बजारदेखि यातायात तथा जमघटमा समेत स्वास्थ्यका मापदण्ड पूर्णरुपमा उल्लंघन भए । यसको परिणाम आउन बाँकी नै छ । दैनिकरुपमा परीक्षण गराउनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ भने संक्रमण पुष्टि हुनेको संख्या पनि क्रमिक बढेको देखिन्छ । दोस्रो लहर शूून्यमा नआइसकेको अवस्थामा फेरि अर्को लहर नथपिएला भन्न सकिँदैन । यसका लागि विज्ञहरुले चाडपर्व मनाउँदा होशियारी अपनाउन बारम्वार अनुरोध गरिरहेका छन् । तर हामीले आफ्नो बानी छोडेको अवस्था छैन ।

महामारीबाट जोगिन अरुलाई दोष दिने भन्दा व्यक्ति स्वयम् सचेत हुन आवश्यक हुन्छ । भिडभाडमा जानु छ भने व्यक्ति स्वयम् होशियार हुनुपर्छ । अरुले स्वास्थ्य मापदण्ड पालना गरे वा गरेनन् भनेर चिन्तित हुनुभन्दा आफू होशियार हुने हो भने महामारी नियन्त्रणमा सहयोग नै पुग्नेछ । दशैंअघि भौतिकरुपमा बालबालिका विद्यालयमा उपस्थित भई अध्यापन सुरु भएको हो । त्यसको नजिता कस्तो आउने हो भन्ने त्रास सबैमा थियो, तर कोरोना संक्रमण विद्यालय खुल्दैमा नबढ्ने रहेछ । यस्तै चाडपर्व मनाउँदैमा वा भेला जुलुस गर्दैमा कोरोना फैलने होइन, तर स्वास्थ्य मापदण्डको पालना नभएको अवस्थामा महामारी सोचेभन्दा बढी फैलने पक्का छ । त्यसैले आफ्नो व्यवहारमा सुधार गर्नुपर्दछ र सबैप्रति शंकालु नजरले हेर्ने र सतर्क हुन जरुरी छ ।