हेटौंडाः हेटौंडा उपमहानगरका २९ वटा विद्यालयले तोकिएको म्यादभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) बुझाएका छैनन् । उपमहागनरभित्र रहेका १ सय २२ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २९ वटा विद्यालयले ईएमआईएस नबुझाएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । ९३ वटा विद्यालयले भने तोकिएको समयभित्रै ईएमआईएस बुझाएको उहाँले बताउनुभयो ।
हालसम्म ६२ वटा सामुदायिक र ३१ वटा निजी विद्यालयले ईएमआईएस बुझाएको रिमालले बताउनुभयो । यसैगरी १४ वटा सामुदायिक र १५ वटा निजी विद्यालयले भने तोकिएको समयभित्र ईएमआईएस नबुझाएको उहाँले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले सुरुमा भदौ मसान्तसम्म ईएमआईएस भरेर बुझाउन म्याद दिएको भए पनि धेरै विद्यालयले नबुझाएपछि असोज २० गतेसम्म म्याद थप गरेको थियो । तर, थप गरिएको म्यादभित्र पनि धेरै विद्यालयले ईएमआईएस नबुझाएको महाशाखा प्रमुख रिमालले जानकारी दिनुभयो । ईएमआईएस बुझाउन बाँकी विद्यालयहरुलाई कार्तिक मसान्तसम्म बुझाउन आग्रह गरेको उहाँले बताउनुभयो ।
विद्यालयले ईएमआईएस नबुझाएमा विद्यालयका सम्पूर्ण कार्यक्रम रोकिने पनि महाशाखा प्रमुख रिमालले बताउनुभयो । उपमहानगरपालिकाले तथ्यांक संकलन गरी केन्द्रमा पठाउनुपर्ने भएकाले झन्झटिलो भएको उहाँले बताउनुभयो । विद्यालयले समयमा ईएमआईएस नबुझाउँदा विद्यालयका अनुदानसमेत रोकिने अवस्था आएको रिमालले जानकारी दिनुभयो ।
समयमै ईएमआईएस नबुझाएकै कारण शिक्षकको तलब, ८ कक्षाको परीक्षा रोकिनुका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने रिमालले बताउनुभयो । अन्तिम पटकका लागि कार्तिक मसान्तसम्म म्याद दिएकाले त्यसपछि ईएमआईएस बुझाउने म्याद थप नहुने र विद्यालयको निकासा रोक्का गरिने उहाँले जानकारी दिनुभयो ।