Home मुख्य समाचार २९ वटा विद्यालयले बुझाएनन् ईएमआईएस

२९ वटा विद्यालयले बुझाएनन् ईएमआईएस

फाइल तस्विर

हेटौंडाः हेटौंडा उपमहानगरका २९ वटा विद्यालयले तोकिएको म्यादभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) बुझाएका छैनन् । उपमहागनरभित्र रहेका १ सय २२ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २९ वटा विद्यालयले ईएमआईएस नबुझाएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । ९३ वटा विद्यालयले भने तोकिएको समयभित्रै ईएमआईएस बुझाएको उहाँले बताउनुभयो ।

हालसम्म ६२ वटा सामुदायिक र ३१ वटा निजी विद्यालयले ईएमआईएस बुझाएको रिमालले बताउनुभयो । यसैगरी १४ वटा सामुदायिक र १५ वटा निजी विद्यालयले भने तोकिएको समयभित्र ईएमआईएस नबुझाएको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले सुरुमा भदौ मसान्तसम्म ईएमआईएस भरेर बुझाउन म्याद दिएको भए पनि धेरै विद्यालयले नबुझाएपछि असोज २० गतेसम्म म्याद थप गरेको थियो । तर, थप गरिएको म्यादभित्र पनि धेरै विद्यालयले ईएमआईएस नबुझाएको महाशाखा प्रमुख रिमालले जानकारी दिनुभयो । ईएमआईएस बुझाउन बाँकी विद्यालयहरुलाई कार्तिक मसान्तसम्म बुझाउन आग्रह गरेको उहाँले बताउनुभयो ।

विद्यालयले ईएमआईएस नबुझाएमा विद्यालयका सम्पूर्ण कार्यक्रम रोकिने पनि महाशाखा प्रमुख रिमालले बताउनुभयो । उपमहानगरपालिकाले तथ्यांक संकलन गरी केन्द्रमा पठाउनुपर्ने भएकाले झन्झटिलो भएको उहाँले बताउनुभयो । विद्यालयले समयमा ईएमआईएस नबुझाउँदा विद्यालयका अनुदानसमेत रोकिने अवस्था आएको रिमालले जानकारी दिनुभयो ।

समयमै ईएमआईएस नबुझाएकै कारण शिक्षकको तलब, ८ कक्षाको परीक्षा रोकिनुका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने रिमालले बताउनुभयो । अन्तिम पटकका लागि कार्तिक मसान्तसम्म म्याद दिएकाले त्यसपछि ईएमआईएस बुझाउने म्याद थप नहुने र विद्यालयको निकासा रोक्का गरिने उहाँले जानकारी दिनुभयो ।

Exit mobile version