हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिने हुनुुभएको छ । बागमती प्रदेशसभामा मतदान गर्न सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मतदान केन्द्रमा सत्तापक्ष र विपक्षीलाई मतदान गर्न छुट्टै कक्षको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि कात्तिक ४ गते छलफल भएको थियो । बागमती प्रदेशमा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेसँगै मुख्यमन्त्री शाक्यलाई तीनै दलले विश्वासको मत नदिने भएका छन् । गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ ।

बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनुपर्छ । नेकपा एमालेसँग हाल ४३ मत रहेको छ । स्पष्टरुपमा प्रदेशमा गठबन्धनको बहुमत पुग्छ । गठबन्धनतर्फ नेपाली कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ ।
प्रदेशमा साना दलहरुले पनि मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्ने भएका छन् । विवेकशील साझाले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने यसअघि नै घोषणा गरेको छ । विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र स्वतन्त्र सांसदको एक मत रहेको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाएमा पदमुक्त हुनुुहुनेछ । बागमती प्रदेशसभा भोलि बिहान १० बजे बस्दैछ ।

अष्टलक्ष्मीद्वारा पहिलो महिला मुख्यमन्त्रीको रेकर्ड
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशकै पहिलो मुख्यमन्त्री बनेर रेकर्ड राख्नुभएको छ । गत भाद्र २ गते माधव नेपालको गुट छोडेर एमालेको ओली समूहमा शाक्य आउनुभएको थियो । ओली समूहमा आएसँगै तत्कालीन प्रदेशको मुख्यमन्त्री तथा एमाले बागमती प्रदेशको संसदीय दलका नेता डोरमणि पौडेललाई केन्द्रको सर्कुलरमा हटाइएको थियो । ओली समूहको संसदीय दलको नेता बनेर भाद्र २ गते अष्टलक्ष्मी शाक्यलाई पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

तेस्रो मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे
बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्ने हुनुभएको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने र पाण्डे मुख्यमन्त्रीमा बिहीबार नियुक्त हुने तयारी छ । एमाले विभाजन भएसँगै बागमती प्रदेशका १३ जना एमालेका सांसदहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा गएका थिए । नयाँ दल दर्ता गरेर राजेन्द्र पाण्डे प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । पाण्डेलाई नेपाली कांग्रेस र माओवादीको समर्थन रहेको छ ।

७० दिन पुग्यो अष्टलक्ष्मीको सरकार
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार आजबाट ७० दिन पुगेको छ । गत भाद्र २ गते मुख्यमन्त्री पदमा नियुक्त भएर सोही दिनबाट सरकारले कार्यभार सुरु गरेको थियो । ७० दिनसम्म मुख्यमन्त्री शाक्यले दुई पटक मन्त्रिपरिष्द विस्तार गर्नुभयो । प्रदेश योजना आयोगलगायत अन्य राजनैनिक नियुक्त गर्नुभएको मुख्यमन्त्री शाक्यले ७० दिनसम्म देखिने कुनै काम भने गर्न सक्नुभएन । प्रदेशको गौरवको आयोजाना सुरुङमार्ग निर्माण अघि बढ्न सकेन । यसैगरी विद्युतीय बस खरिद प्रक्रिया, गोसाईंकुण्ड एकीकृत विकास आयोजना, रुबी भ्याली एकीकृत विकास योजनालगायतका कामहरु सुरु हुन सकेन । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो सरकारले गरेको काम भन्दै कात्तिक ४ गते प्रदेशसभामा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गरेको कामको फेहरिस्त पढेर सुनाउनुभएको थियो ।

प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी लिएको २३ दिनमै शाक्यले प्रतिनिधित्व गर्ने दल एमाले विभाजन भयो । मुख्यमन्त्री शाक्यले त्यसपछि २ जना मन्त्रीमा मन्त्रिमण्डल सिमित राखेर कामसमेत गर्नुभयो । आफ्नो सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री शाक्यले ३० दिनभित्र विश्वासको मत भने लिनुभएन । संविधानमा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रष्ट भएपनि ३० दिनभित्र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेर सरकार चलाइराख्नुभयो । शाक्यले आज बुधबार प्रदेशसभामा विश्वासको मतको सामना गर्दैहुनुहुन्छ ।