Home मुख्य समाचार प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमा आज मतदान हुने

प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमा आज मतदान हुने

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिने हुनुुभएको छ । बागमती प्रदेशसभामा मतदान गर्न सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मतदान केन्द्रमा सत्तापक्ष र विपक्षीलाई मतदान गर्न छुट्टै कक्षको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि कात्तिक ४ गते छलफल भएको थियो । बागमती प्रदेशमा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेसँगै मुख्यमन्त्री शाक्यलाई तीनै दलले विश्वासको मत नदिने भएका छन् । गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ ।

बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनुपर्छ । नेकपा एमालेसँग हाल ४३ मत रहेको छ । स्पष्टरुपमा प्रदेशमा गठबन्धनको बहुमत पुग्छ । गठबन्धनतर्फ नेपाली कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ ।
प्रदेशमा साना दलहरुले पनि मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्ने भएका छन् । विवेकशील साझाले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने यसअघि नै घोषणा गरेको छ । विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र स्वतन्त्र सांसदको एक मत रहेको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाएमा पदमुक्त हुनुुहुनेछ । बागमती प्रदेशसभा भोलि बिहान १० बजे बस्दैछ ।

अष्टलक्ष्मीद्वारा पहिलो महिला मुख्यमन्त्रीको रेकर्ड
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशकै पहिलो मुख्यमन्त्री बनेर रेकर्ड राख्नुभएको छ । गत भाद्र २ गते माधव नेपालको गुट छोडेर एमालेको ओली समूहमा शाक्य आउनुभएको थियो । ओली समूहमा आएसँगै तत्कालीन प्रदेशको मुख्यमन्त्री तथा एमाले बागमती प्रदेशको संसदीय दलका नेता डोरमणि पौडेललाई केन्द्रको सर्कुलरमा हटाइएको थियो । ओली समूहको संसदीय दलको नेता बनेर भाद्र २ गते अष्टलक्ष्मी शाक्यलाई पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

तेस्रो मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे
बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्ने हुनुभएको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने र पाण्डे मुख्यमन्त्रीमा बिहीबार नियुक्त हुने तयारी छ । एमाले विभाजन भएसँगै बागमती प्रदेशका १३ जना एमालेका सांसदहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा गएका थिए । नयाँ दल दर्ता गरेर राजेन्द्र पाण्डे प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । पाण्डेलाई नेपाली कांग्रेस र माओवादीको समर्थन रहेको छ ।

७० दिन पुग्यो अष्टलक्ष्मीको सरकार
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार आजबाट ७० दिन पुगेको छ । गत भाद्र २ गते मुख्यमन्त्री पदमा नियुक्त भएर सोही दिनबाट सरकारले कार्यभार सुरु गरेको थियो । ७० दिनसम्म मुख्यमन्त्री शाक्यले दुई पटक मन्त्रिपरिष्द विस्तार गर्नुभयो । प्रदेश योजना आयोगलगायत अन्य राजनैनिक नियुक्त गर्नुभएको मुख्यमन्त्री शाक्यले ७० दिनसम्म देखिने कुनै काम भने गर्न सक्नुभएन । प्रदेशको गौरवको आयोजाना सुरुङमार्ग निर्माण अघि बढ्न सकेन । यसैगरी विद्युतीय बस खरिद प्रक्रिया, गोसाईंकुण्ड एकीकृत विकास आयोजना, रुबी भ्याली एकीकृत विकास योजनालगायतका कामहरु सुरु हुन सकेन । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो सरकारले गरेको काम भन्दै कात्तिक ४ गते प्रदेशसभामा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गरेको कामको फेहरिस्त पढेर सुनाउनुभएको थियो ।

प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी लिएको २३ दिनमै शाक्यले प्रतिनिधित्व गर्ने दल एमाले विभाजन भयो । मुख्यमन्त्री शाक्यले त्यसपछि २ जना मन्त्रीमा मन्त्रिमण्डल सिमित राखेर कामसमेत गर्नुभयो । आफ्नो सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री शाक्यले ३० दिनभित्र विश्वासको मत भने लिनुभएन । संविधानमा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रष्ट भएपनि ३० दिनभित्र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेर सरकार चलाइराख्नुभयो । शाक्यले आज बुधबार प्रदेशसभामा विश्वासको मतको सामना गर्दैहुनुहुन्छ ।

Exit mobile version