गुगल तस्बिर

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाभित्र रिक्त २७ शिक्षक दरबन्दीमा दरबन्दी मिलान भएको छ । उपमहानगरभित्र प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका २७ शिक्षकको दरबन्दी मिलान भएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।

चालु शैक्षिक सत्रको भदौ मसान्तसम्म दरबन्दी मिलान हुँदा अहिलेसम्मकै ऐतिहासिक काम भएको रिमालले बताउनुभयो । २०७५ सालको दरबन्दी मिलान व्यवस्थापनअनुसार नयाँ ढंगले दरबन्दी मिलान गरिएको उहाँले जानकारी दिनुभयो ।

अहिलेको दरबन्दी मिलान तथ्यांकका आधारमा सबैभन्दा बढी रहेको महाशाखा प्रमुख रिमालले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाभित्रका मापदण्डभन्दा बढी शिक्षक दरबन्दी रहेका विद्यालयहरुमा रिक्त भएका दरबन्दी कट्टा गरी दरबन्दी मिलानसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी २०७५ साल फागुन २३ गतेसम्म अनलाइनबाट भरिएको शैक्षिक तथ्यांक तथा विद्यालयका विद्यार्थी संख्या हिमाल, पहाड र तराईका शिक्षक विद्यार्थी अनुपात क्रमशः चालीस, पैंतालीस र पचासलाई स्थानीय तहको शिक्षक मौजुदा अवस्था र आवश्यकताको पहिचानका आधारमा मिलान हुने व्यवस्था भएको रिमालले बताउनुभयो । कुनै विद्यालयमा माथिल्लो तहमा दरबन्दी अपुग भएको अवस्थामा तल्लो तहमा बढी भएको दरबन्दीलाई सबै तहका दरबन्दी गणना गरिएको उहाँले जानकारी दिनुभयो ।