हेटौंडाः सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मानव सेवा आश्रमलाई १ लाख २२ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाली कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले आफ्नो सेवा सुविधाबापत प्राप्त रकममध्येबाट एक लाख रूपैयाँ मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको मानव सेवा आश्रम मकवानपुरका संयोजक होमनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैगरी मकवानपुरकै शिक्षाविद् देव श्रेष्ठले आमाको जन्मदिनको अवसरमा पेन्सन बापत आएको एक महिनाको रकम २२ हजार रुपैयाँ सहयोग गर्नुभएको पौडेलले बताउनुभयो । आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई आश्रममै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरूको सेवामा सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको बताउनुभयो । परिवारबाट विछोड भएका, मानसिक रूपमा विक्षिप्त, शरीरिक रूपमा अशक्त र सडकमा कठिन जीवन विताउने क्रममा जन्मिएका र अलपत्र भेटिएका शिशुको आश्रमले उद्दार गर्दै आएको छ । आश्रममा अहिले २ सय जना आश्रित रहेका छन् । गाँस, बास, कपास एवं वृत्तिविकास र पुनर्मिलनमा गरेको कार्य मानवताको उच्चतम उदाहरण रहेको छ ।