उपाधी जितेपछि आयोजक कृष्णमन्दिर टोल विकास संस्थाको भलिबल टिम ।

हेटौंडाः हेटौंडा–११ मा आयोजित टोलस्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक कृष्णमन्दिर टोल विकास संस्थाले जितेको छ । सोमबार भएको फाइनल खेलमा कृष्णमन्दिर टोल विकास संस्थाले सडकटोल विकास संस्थालाई १७–२५, २५–१६, २८–३०, २५–१५ र १६–१४ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो ।

आयोजकले उपाधिसँगै नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानका लागि भएको खेलमा तल्लोताल टोल विकास संस्थाले दुम्सीडाँडा टोल विकास संस्थालाई २६–२४, २५–१४, १२–२५ र २५–१३ को सेटमा पराजित गरेको छ । वडाका ९ वटा टिम सहभागी भएको भलिबल प्रतियोगिताको उत्कृष्ट खेलाडी राजेश घिमिरे घोषित भए भने उत्कृष्ट स्पाइकर अमृत मिश्र, उत्कृष्ट सेटर रिकेश कार्की र लिब्रो राजेश बजगाई घोषित भए ।

प्रतियोगितामा दोस्रो हुने टिमले १० हजार रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टिमले ५ हजार रुपैयाँ प्राप्त गरेको छ । वडा कार्यालयको प्रयोजनमा भएको प्रतियोगिताका लागि विभिन्न संघ, संस्था र व्यक्तिले पनि सहयोग गरेको थियो ।