Home मुख्य समाचार जेसीआई हेटौंडा लेडीद्वारा बालबालिकालाई दशैंको सहयोग

जेसीआई हेटौंडा लेडीद्वारा बालबालिकालाई दशैंको सहयोग

भीमफेदीस्थित बालगृहलाई सहयोग हस्तान्तरण गरिँदै ।

हेटौंडाः जेसीआई हेटौंडा लेडीले वडा दशैंको अवसरमा मकवानपुरका विभिन्न बालगृहमा आश्रित बालबालिकालाई दशैं कोसेली सहयोग गरेको छ । बालगृहमा आश्रित बालबालिकालाई जेसीआई हेटौंडा लेडीले मासु र चिउरा सहयोग गरेको हो ।

जेसीआई हेटौंडा लेडीले आइतबार भीमफेदी गाउँपालिकास्थित भीमफेदी बालगृह किताब राख्ने ३ थान दराजसहित ३० केजी कुखुराको मासु र २०केजी चिउरा सहयोग गरेको छ । यस्तै सोमबार हेटौंडा–११ स्थित मामाघर नेपालमा २५ केजी मासु र २० केजी चिउरा तथा हेटौंडा–५ स्थित हाम्रो घर बालगृहमा ३५ केजी मासु र २० केजी चिउरा सहयोग गरेको छ ।

मामाघर नेपालमा सहयोग हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।।

भीमफेदीमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, नेपाल बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगर, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको उपस्थिति रहेको थियो । जेसीआई हेटौंडा लेडीकी कार्यकारिणी उपाध्यक्ष डिलमाया घर्तीको संयोजकत्वमा बालगृहमा सहयोग कार्यक्रम भएको हो ।

हाम्रोघरमा सहयोग हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।।

जेसीआई हेटौंडा लेडीका पदाधिकारी तथा सदस्य एवम् गैरजेसीजमार्फत सहयोग संकलन गरी कुल ६२ हजार ७ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ । भीमफेदी बालगृहमा ३१ जना, मामाघर नेपालमा २२ जना र हाम्रो घरमा २७ जना बालबालिका आश्रित छन् । ‘मेरो दशैं खर्च बालबालिकालाई’ भन्ने अवधारणासहित बालगृहमा आश्रित बालबालिकालाई सहयोग गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताउनुभएको छ ।

Exit mobile version