हेटौंडाः नेपाल सरकारको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई हेटौंडामा मकवापनुरका २१ क्रियाशील संस्थाले स्वागत गरेको छ । सोमबार २१ संस्थाको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा विरोध खतिवडाले मकवानपुरको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने बताउनुभयो । ७७ जिल्लाको विकास गर्ने आफ्नो जिम्मेवारी भएपनि मकवानपुरलाई विशेष प्राथमिकतामा राख्ने बताउनुभयो ।
मन्त्री खतिवडाले बालबालिका (१२ वर्षदेखि १८ वर्ष) सम्मकालाई लगाउन कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई लगाउन ४० लाख खोप सम्झौता भइसकेको र थप ६० लाख खोप प्रक्रियामा रहेको जानकारी दिनुभयो । आफ्नो सरकारमा रहेसम्म नेपालमा कोभिड विरुद्धको खोप रोकियो भन्ने दिन नआउने प्रतिबद्धता उहाँले गर्नुभयो ।
मकवानपुरमा कोभिडको समयमा संचालनमा आएको कोभिड हेल्थ डेस्कलाई सहयोग पुर्याएको संस्थाहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सम्मान गरेको हो । कार्यक्रममा कोभिड हेल्थ डेस्क मकवानपुरका संयोजक एवं उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, पुरानो नारायणी यातायात प्रालिका अध्यक्ष हिरालाल श्रेष्ठ, नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, हेटौंडा उपमहानगरका उपमेयर मिना लामा, इन्द्र सरोबर गाउँपालिका अध्यष जीवन लामा, नेकपा एस मकवानपुरका सचिव विष्णु दाहाल लगायतको उपस्थिति रहेको थियो ।













