हेटौंडाः नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय (पेफा) सँगको सहकार्यमा शुक्रबार तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटनमा सेजनका अध्यक्ष जर्नादन बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । पेफा सचिवालयका सदस्यसचिव गोरखबहादुर शाहीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।
तालिममा पेफा सदस्यसचिव शाहीले सार्वजानिक वित्त व्यवस्थापन सम्बन्धमा हालसम्मका व्यवस्थाहरु (संविधान, ऐन, कानुन, नियम निर्देशिकाहरु) र समस्या तथा चुनौतीहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै बागमती प्रदेश लेखा नियन्त्रक हरि उपाध्यायले प्रदेशको बजेट खर्च प्रणाली तथा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने कामहरुको बारेमा प्रस्तुत गर्नुभएको थियो ।
नेपाल सरकारका पूर्वसचिव सुशील पाण्डेले केन्द्रीय तथा प्रदेशको बजेट, अनुदान प्रणाली, पुँजीगत खर्च, सञ्चित कोष, बजेट घाटा, यसका समस्या र अभ्यासका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । यस्तै, सेजनका निवर्तमान अध्यक्ष भीम गौतमले सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी हाल भइरहेको रिपोर्टिङ तथा पत्रकारले खोज्नुपर्ने विषयहरुका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
सेजनका वर्तमान अध्यक्ष जनार्दन बरालले आफ्नो मन्तव्यसहित कार्यक्रमलाई समापन गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता थियो ।