हेटौंडाः बागमती प्रदेशले आगामी मंसिर महिनादेखि प्रथम प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १५ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटोमा बसेको बागमती प्रदेश खेलकुद विकास परिषद्को बैठकले मंसिरबाट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार प्रतियोगितामा ८ खेल समावेश हुने भएको छ । सम्बन्धित खेल संघहरुकै समन्वयमा हुने प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाबाट लगभग १ हजार ५ सय ६२ जना खेलाडीहरुले सहभागिता जनाउने जनाइएको छ ।

परिषद्ले प्रदेशका १३ वटै जिल्लामा खेलाडीहरुको पछिल्लो तथ्याङ्कअनुसार विभिन्न खेलमा खेलाडीहरुको सहभागिता, खेलअनुसार प्रतियोगिताको लागत खर्च निर्धारण गरेको छ । प्रतियोगितामा फुटबल, भलिबल, बक्सिङ, एथलेटिक्स, तेक्वान्दो, कराँते तथा ब्याडमिन्टनमा महिला र पुरुष दुबै खेलाडीहरुको सहभागिता रहने तथा क्रिकेटमा भने पुरुष टिमको मात्र सहभागिता रहने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । बागमती प्रदेशका सबैजसो जिल्लामा टिम पुग्नेगरी क्रिकेटको महिला खेलाडी नभएकाले महिला क्रिकेट आयोजना नगरिने उहाँको भनाई छ ।

प्रतियोगिताको टी–ट्वान्टी क्रिकेटमा बागमती प्रदेशका ८ वटा जिल्लाबाट पुरुष टिमको सहभागिता रहने जनाइएको छ । जसमा प्रत्येक टिममा १४ जना खेलाडीका दरले कुल १ सय १२ जना खेलाडी सहभागी हुने उल्लेख छ । यस्तै फुटबलमा पुरुषतर्फ १२ जिल्लाको टिम तथा महिलातर्फ ८ जिल्लाको टिमको सहभागिता रहनेछ भने कुल ३ सय २० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने सदस्यसचिव भण्डारीले बताउनुभयो । पुरुष भलिबलमा १३ जिल्लाकै टिम तथा महिला भलिबलमा १२ जिल्लाको टिमको सहभागिता रहनेछ, जसमा कुल २ सय ५० जना खेलाडीले खेल्नेछन् ।

यसैगरी एथलेटिक्स, तेक्वान्दो, कराँते तथा ब्याडमिन्टनको महिला तथा पुरुषमा १३ वटै जिल्लाले सहभागिता जनाउने जनाइएको छ । एथलेटिक्समा प्रत्येक जिल्लाले महिलातर्फ बढीमा ६ जना र पुरुषतर्फ बढीमा ७ जना खेलाडी सहभागी गराउन पाउनेगरी कुल १ सय ६९ जना खेल्ने परिषद्ले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तेक्वान्दो र कराँतेमा एक जिल्लाबाट बढीमा ९/९ जना महिला र ११/११ जना पुरुष खेलाडीहरुको सहभागिता रहने गरी कुल ५ सय २० जना खेलाडीहरु सहभागी हुनेछन् । ब्याडमिन्टनमा महिला र पुरुष गरी बढीमा ७ जना खेलाडीले जिल्लाको प्रतिनिधित्व गर्न पाउनेछन् भने प्रतियोगितामा कुल ९१ जना खेलाडीहरुले सहभागिता जनाउनेछन् । बक्सिङतर्फ भने महिला र पुरुषको १० जिल्लाका १ सय जना खेलाडी सहभागी हुने जनाइएको छ ।

प्रतियोगिताका लागि कुल ६ करोड ४२ लाख ७७ हजार ८ सय ५० रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगिताअन्तर्गत् फुटबलका लागि १ करोड ६ लाख २१ हजार ८ सय रुपैयाँ, भलिबलका लागि ६४ लाख ३३ हजार १ सय रुपैयाँ, क्रिकेटका लागि २९ लाख ११ हजार ८ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको परिषद्ले जनाएको छ । यसैगरी बक्सिङ आयोजना गर्न ५४ लाख ५ हजार ७ सय ५० रुपैयाँ, एथलेटिक्समा ४६ लाख ५३ हजार ८ सय ७५ रुपैयाँ, तेक्वान्दोका लागि ७४ लाख ४७ हजार ८ सय २५ रुपैयाँ, कराँतेमा ५९ लाख ५४ हजार ८ सय २५ रुपैयाँ तथा ब्याडमिन्टनमा २५ लाख २ हजार १ सय ७५ रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागिता गराउनका लागि १३ वटै जिल्लामा अनुदानस्वरुप कुल १ करोड ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिताको उद्घाटन समारोहका लागि १८ लाख रुपैयाँ तथा समापन समारोहका लागि १० लाख रुपैया“ खर्च हुने अनुमान गरिएको छ । सचिवालय खर्चका लागि १२ लाख रुपैयाँ, स्वयम्सेवक खर्चका लागि १ लाख ४६ हजार ७ सय रुपैयाँ, स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमबाट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरी प्रचारप्रसारका लागि १० लाख रुपैयाँ छुट्याइने जनाइएको छ । यसैगरी अतिथि सत्कारका लागि ५ लाख रुपैयाँ, पूर्वाधार मर्मतका लागि २० लाख रुपैयाँ र जिल्ला प्रतियोगिता, जिल्लाका पदाधिकारी र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रमका लागि ३ लाख रुपैयाँ खर्च हुने भएको छ ।

प्रतियोगितामा खेलअनुसार अनुमानित खर्चहरु केही बढ्नसक्ने भएपनि खर्च कम हुने खेलबाट बजेट स्थानान्तरण गर्न सकिने परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिनुभयो । प्रदेश प्रतियोगिता खेलअनुसार विभिन्न जिल्लामा आयोजना गरिने पनि उहाँले बताउनुभयो । प्रतियोगिताको उद्घाटन पुरुष फुटबलबाट र समापन भने क्रिकेटबाट गर्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो । पुरुष फुटबल हेटौंडामा नै आयोजना गर्ने र क्रिकेट चितवनमा आयोजना गर्ने तयारी भइरहेको उहाँले बताउनुभएको छ ।
यस्तै, परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्नुपूर्व थप ३ खेल आयोजना गर्ने भएको छ ।

साहसिक तथा पर्यटकीय खेलकुदको रुपमा ३ वटा प्रतियोगिता हुने सदस्यसचिव भण्डारीले बताउनुभयो । उहाँका अनुसार कात्तिक १३ गतेदेखि दोलखामा रिङ रेस्लिङ आयोजना हुनेछ भने कात्तिक २७ गतेदेखि सिन्धुपाल्चोकको पाँचपोखरीमा अल्ट्रा म्याराथुन र मंसिर १० गतेदेखि रसुवामा साइक्लिङ आयोजना हुने भएको छ ।