
हेटौंडाः सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशको सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक https://infobank.bagamati.gov.np/ सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार प्रदेशको राजधानी हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा अजयक्रान्तिले सुचना बैंकको उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेशको सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने बनाइएको छ । बागमती प्रदेशको ११९ वटै स्थानीय तहका सूचना एकै स्थानमा आउने सक्ने गरी बनाउन सकने सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो ।
बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु पर्दैन, सूचना बैंकको पोर्टलमा सर्च गर्दा ती १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ ।

गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना सूचना बैंकमा संग्रहित गराइएको छ ।
हाल प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपुर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत तत्कालै सूचना बैंकमा संग्रहित हुनेछ । सूचना बैंकमा समेटिएका कार्यालयको सूचनाका लागि सम्बन्धित कार्यालयको वेवसाइटमा नगइकन प्राप्त गर्न सकिनेछ भने सम्बन्धित कार्यालयको वेवसाइटमा पनि सूचना बैंक मार्फत नै पुग्न सकिनेछ ।