चाडपर्व सुरु भएसँगै कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले अनुगमन सुरु गरेका छन् । सरकारले पनि स्थानीय प्रशासनलाई उपभोक्ताका हितविपरित कार्य हुन नदिन निर्देशन दिएपछि बजार अनुगमन सुरु भएको छ । मकवानपुर जिल्ला प्रशासनको नेतृत्वमा एक हप्तादेखि बजार अनुगमन भइरहेको छ । चाडपर्वको किनमेल नसकिइञ्जेल बजारमा प्रशासनको नेतृत्वमा अनुगमन हुने भएको छ । यता सञ्चार माध्यमबाट समेत उपभोक्ताको हितमा सार्वजनिक सूचनाहरु प्रसारण भएका छन् । यस्तै हेटौंडा उपमहानगरपालिकाले पनि आफ्नो तर्फबाट कालोबजारी रोक्ने प्रयास गरेको दावी छ । यस्तै विभिन्न उपभोक्तावादी संस्थाहरु पनि चाडपर्वकै समयमा अनुगमनका लागि अघिसरेको पाइन्छ ।
उपभोक्ताको चिन्ता राज्य संयन्त्रदेखि नागरिक अगुवाहरुको जिम्मेवारी हो । तर वर्षमा एक पटकमात्र चिन्ता प्रकट हुने गरेको छ । सेवा नियमित हुन्छ भने अनुगमन पनि सोहीअनुसार हुन आवश्यक छ । चाडपर्वमा विशेष भिड हुने र उपभोक्ताले बढी मात्रामा खरिद गर्ने भएकाले ठगिने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा बढी सक्रिय हुनु आवश्यक छ । यसको अर्थ अघि–पछि कालोबजारी नै नहुने, अखाद्य वस्तु बिक्रीवितरण नहुने भन्ने हैन । अनुगमनलाई राज्यले आफ्नो नियमित कार्यक्रम बनाउनु पर्दछ । अरु काम सकिए वा नभएको अवस्थामा काम देखाउनमात्र अनुगमन हुँदै आएको छ । यस्तो प्रक्रियाले उपभोक्ता र सरोकारवालाबीच अविश्वास बढ्ने पक्का छ ।
पछिल्ला दिनमा एक सय बढी पसल, रेष्टुरेन्ट, औषधी पसलमा अनुगमन भइसकेको प्रशासनको दावी छ । अनुगमन गरिएकामध्ये सबैभन्दा बढी खाद्यान्न पसलको अनुगमन भएको छ । अनुगमन गर्दा मूल्यसूची प्रष्ट नदेखिएको, सरसफाई नभएको, मास्कको प्रयोग नगरिएको र भिडभाड भएको पसलका सञ्चालकलाई सुझाव दिनेदेखि बिल नै पेश गर्न नसक्नेहरुलाई जरिवानासमेत गरिएको छ । चाडपर्व केन्द्रित यस्ता अनुगमन मौसमीमात्र बन्ने गरेको छ । कालोबजारी गर्नेहरुले अन्य समयलाई बढी उपभोग गर्नसक्नेतर्फ प्रशासनको ध्यान जान आवश्यक छ । नत्र पर्व केन्द्रित अनुगमनले ठूलो असर नगर्न सक्छ । वर्ष दिनभरि उपभोक्ता ठगिने र चाडपर्वमा मात्र अनुगमनको औचित्य हुँदैन । बजार अनुगमन नियमित गराउनु पर्दछ ।
कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि र म्याद गुज्रेका सामान बिक्रीजस्ता उपभोक्ता हितविपरितका क्रियाकलाप भएको पाइएमा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न समेत भनिएको छ । तर आजसम्म कुनै पनि उपभोक्ताले यस्तो उजुरी गरेका छैनन् । यसको अर्थ बजारमा कालोबजारी नै भएको छैन भन्ने पटक्कै हैन । उजुरी गरेर पनि कारवाही हुँदैन र आफूले मात्र पसलेसँग दुश्मनी मोल्नुपर्ने डर उपभोक्तामा छ । नागरिकमा प्रशासनले विश्वास जगाउन सक्नुपर्दछ । उजुरीमाथि छानविन र कारवाही हुने विश्वास उपभोक्तामा भए अनुगमनको काम नागरिक स्वयम्ले गर्नेछन् । जसले अनयिमितता गर्दछ, उसको विरुद्धमा उजुरी लिएर सम्बन्धित निकायमा उपभोक्ता नै पुग्ने वातावरण बनाउनु पर्दछ । चाडवाड केन्द्रित भन्दा पनि नियमित अनुगमन गर्ने व्यवस्था हुनुपर्दछ ।