हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका सामुदायिक विद्यालयहरु शुक्रबारसम्म सञ्चालनमा रहने भएको छ । घटस्थापनादेखि दसैं विदा हुने विद्यालय यस वर्ष कोभिड–१९, महामारीका कारण पठनपाठन प्रभावित भएको भन्दै गाउँपालिकाले दसैं बिदाको दुईदिन पठनपाठन सुचारु राख्ने जनाएको छ ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटस्थापनापछि बन्द हुने विद्यालय घटस्थापनाको भोलिपल्टसम्म सुचारु राख्ने निर्णय गरिएको जानकारी दिनुभएको छ । कोभिड–१९ महामारीका कारण लामो समयसम्म विद्यालय बन्द रहेको उल्लेख गर्दै उक्त अवधिको क्षति न्यूनीकरण गर्न दसैं विदाको दुई दिन विद्यालय सुचारु गर्ने निर्णय भएको अध्यक्ष उप्रेतीले जनाउनुभएको छ । यस्तै विद्यालयहरु दसैं विदापछि सुचारु रहने पनि पालिकाले स्पष्ट पारेको छ । दुईदिन विद्यालय सुचारु राख्ने पालिकाको निर्णयलाई शिक्षकहरुले भने विरोध गरेका छन् ।