समीक्षा गोष्ठीमा सहभागि मकवानपुरका स्वास्थ्यकर्मीहरु

हेटौंडाः स्वास्थ्य कार्यालय मकवानपुरले गत वर्ष ७७/७८ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गरेको छ । सोमबार र मंगलबार हेटौंडामा भएको समीक्षा गोष्ठीमा मकवानपुरको १० वटा स्थानीय तहको स्वास्थ्य संयोजक/प्रमुखले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

मंगलबार समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुख प्रणय उपाध्यायले जिल्लाको स्वास्थ्य अवस्थामा खासै सुधार नभएको बताउनुभयो । तेस्रो पटक समीक्षा कार्यक्रममा बसिरहँदा पनि जिल्लामा भएको तथ्यांकहरु उस्तै रहेको बताउनुभयो । उहाँले स्थानीय तहहरुले भने स्वास्थ्यमा नवीनतम कुराहरु सुरु गरेको बताउनुभयो ।

३ वर्ष सम्म स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुखको रुपमा कार्य गर्दा समग्र सबै पालिकाहरुले डाटा भेरिफिकेसन गर्नुपर्ने देखिएको बताउनुभयो । धेरै त्रुटीहरु देखिएको भन्दै ६ महिनामा एक पटक भएपनि आन्तरिक रुपमा डेटा भेरिफिकेसनमा गर्नुपर्ने उपाध्यायले बताउनुभयो ।