संप्रस पौडेल

– भाषणपछि नेताज्यू कार्यकर्तालाई गाली गर्दैः
के केटाकेटी पारा हो हँ, हाच्छिउँ पनि गर्न नपाउँनी । ताली बजाएर डिस्टप गर्नी ।
– सरकारले दुईवटा कुरालाई प्राथमिकतामा राखेको छः

१. किसानलाई निशुल्क बीउबिजन, मल दिँदै सबै उत्पादन उच्च दरमा सरकारले नै किनिदिने ।
२. यही सुधारका आडमा आउँदो चुनावमा बहुमतले विजय गर्ने । तर हाललाई सरकारले पहिलो निर्णयलाई स्थगित गर्दै दोश्रोतिर लम्किरहेको देखिन्छ ।

– नेपालमा साम्यवाद केही वर्ष राजश्व कार्यालयमा थन्किएको गाडी जस्तो हुन पुगेको छ । सबै दलहरु यसका इन्जिन, टायर, च्यासिस, स्टेरिङ, ब्याट्री आदित्यादी मर्मत सम्भार गरी यात्रुसहित कुदाउने तरखरमा छन् ।

– नेपाल र अमेरिकाको संविधानबीच के फरक छ ?
दुवै संविधानमा वाक स्वतन्त्रताको व्यवस्था छ तर त्यहाँको संविधानले बोलेपछिको स्वतन्त्रताको पनि रक्षा गर्छ ।

– अमेरिकाले अफगानिस्तानलाई किन हरिबिजोग बनाएको होला ?
किनभने अ र अ एकअर्काका शत्रु हुन् ।
– शासक र जनताः– शासकः जनताहरु नेपालमा रामराज्य छैन त ?
जनताः यस अवस्थालाई हरिबिजोग भनिन्छ, हरिराज्य त होइन नि ।
– चुनावका बेलाको नेपालः– आ–आफ्ना प्रतिनिधिसँग सवै असन्तुष्ट छन् तर भोट हाल्न तँछाड मछाड गर्छन् ।

– शेरबहादुर देउवाले थुप्रै वचन दिए । तर के दिए भन्ने श्रीमती देउवालाई मात्रै थाहा छ ।
– आफ्नो थरका कारण माधवकुमार नेपाललाई मात्रै विदेशीहरुले वास्तविक नेपाल ठान्दा हुन् ।
– यदि अवसरले ढोका ढकढकाएन भने घरमा अझै ढोका पुगेको रहेनछ भनेर बुझ्नुहोस् ।
– कसैलाई कन्भिन्स गराउन सक्नुहुन्नँ भने कन्फ्युज गराउनुस् ।

– पत्रिकामा आर्थिक वृद्धि भैरहेको पढ्नुभयो भने पत्याउनुहोस् । पत्याउनु तपाईँको दायित्व हो ।
– पेट्रोलियमको भाउ बढ्यो । विदेशीले पैदल यात्रा गरेर आन्दोलन गर्छन् । हामी बढेकै मूल्यको पेट्रोल भरेर बाइक कुदाउँदै आन्दोलन गर्ने हो ।

– मान्छेहरू काममै व्यस्त हुन चाहन्छन् । तिनलाई थाहा छ– यो समय पार्टीहरुले टिकट बेच्ने समय हो ।
– संस्थागत बोर्डिङ स्कूलः– शिक्षकः तलब नबढाउने भए म अन्यत्र जाँदैछु । ३ वटा अर्गनाइजेसन मेरा पछि लागिरहेका छन् । प्रिन्सिपलः कुन कुन पछि लागेछ हँ ? एउटासँग त मलाई पनि चिनाइदिनोस् न ।