हेटौंडाः मकवानपुरका केही विद्यालयहरुमा अहिले परीक्षा सञ्चालन भइरहेको छ । निषेधाज्ञाकै बेलामा गत असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न शिक्षा मन्त्रालयले अनुमति दिएको थियो । मन्त्रालयले अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थी, भर्ना, अभिलेखीकरण तथा पाठ्यपुस्तक वितरण सुरु गरेका थिए । हेटौंडा उपमहानगरका विद्यालयहरुले वैकल्पिक शिक्षण सिकाईका रुपमा अनलाइन कक्षालाई जोड दिएको थियो । वैकल्पिक शिक्षण सिकाईमा अधिकांश विद्यालयले ५० प्रतिशत पनि विद्यार्थी सहभागी गराउन सकेका थिएनन् ।
निषेधाज्ञाका बेला वैकल्पिक विधिबाट भएको पठनपाठनमा सहभागी नभएका विद्यार्थीहरु विभिन्न श्रम तथा यौन दुव्र्यवहारमा संग्लन हुनसक्ने भन्दै विद्यालय खोल्न प्रशासनलाई दवाव दिइएको थियो । दवावपश्चात् विद्यालय खोल्न सक्ने आधारसहित प्रशासनले अनुमति दिएपछि भदौ २७ गतेबाट मकवानपुरका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको थियो । भौतिक उपस्थितिमा पठनपाठन सुरु भएका एक महिना नपुग्दै विद्यालयहरुले परीक्षा सञ्चालन गरिरहेका छन् ।
दशैंअघि विद्यालयमा परीक्षा सञ्चालनबारे हेटौंडा–४ मा रहेको भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल भन्नुहुन्छ— ‘५ महिना कोरोना महामारीले विद्यालय बन्द भए, कतिपय विद्यार्थीले मानसिक तनाव झेल्नुपर्यो । जसकारण पठनसंस्कृतिमा विद्यार्थीको ध्यान कम हुने भएकाले पढाइ तथा लेखाइमा केन्द्रित होस् भन्ने उद्देश्यले परीक्षा लिएका हौं ।’ प्रधानाध्यापक दाहालले २० गतेसम्म सञ्चालन हुने परीक्षामा ९० प्रतिशतमात्र परीक्षार्थी सहभागी हुँदा १० प्रतिशत अनुपस्थित रहेको बताउनुभयो । दशैं आउन १ महिना बाँकी हुँदा विद्यालय खुलेको थियो । केही विद्यार्थी निषेधाज्ञाको समयदेखि नै गाउँघर गएको र केही बिरामी भएका कारण परीक्षामा उपस्थित हुन नसकेको दाहालले बताउनभयो ।
गत शुक्रबारबाट सुरु भएको परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित हुँदा ५ प्रतिशत विद्यार्थी उपस्थित हुन नसकेको हेटौंडा—१ मा रहेको अमर माविका प्रधानाध्यापक मालती उप्रतीले बताउनुभयो । यस्तै, हेटौंडा—४ मा रहेको आधुनिक राष्ट्रिय माविमा पनि आइतबारबाट परीक्षा सुरु भएको छ । उपमहानगरमा मात्र ७६ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय रहेका छन् ।
भूटनदेवी माविबाट कक्षा ९ को परीक्षा दिइरहेका विद्यार्थी आशीष बानियाँले परीक्षा सोचेजस्तो भएको बताउनुभयो । विद्यालयले अनलाइन कक्षालाई समेत मान्यता दिएर पढाइ आगाडि बढाएको बताउँदै बानियाँले भौतिक उपस्थितिमा जति बुझ्न सकिन्छ, त्यति अनलाइनमा नबुझेकाले अनलाइनमा पढेका पाठहरु नदोर्याउँदा नजानेका कुराहरु सिक्न नपाएको गुनासो गर्नुभयो । शिक्षकले मुख्यमुख्य विषयलाई मात्र जोड दिएर तिव्र गतिमा पढाइ अगाडि बढाएको उहाँले बताउनुभयो । स्थानीय सरकारले समेत मुख्य विषयलाई समेटेर पढाइ अघि बढाउन विद्यालयलाई अनुरोध गरेको अवस्थामा विद्यार्थी भने पढाइको गुणस्तर खस्किने चिन्तामा रहेका छन् ।
विद्यालय तहबाट निस्किएपछि क्याम्पसले प्रश्नपत्र तयार नगर्ने भएकाले किताबभित्र भएका सबै पाठ पढ्नुपर्ने हुँदा जान्नुपर्ने कुराहरु पनि नजान्दा समस्या हुनसक्ने विद्यार्थीको बुझाई छ । आधुनिक माविमा कक्षा ८ को परीक्षा दिइरहेका विद्यार्थी आदित्य पुडासैनीले परीक्षा लिने प्रणाली फेरिँदा राम्रो परीक्षा भएको बताउनुभयो । १ घण्टामा ३० पूर्णाङ्कको मात्र विद्यालयले परीक्षा लिएको पुडासैनीले बताउनुभयो । पहिला दुई घण्टाको ६० पूर्णाङ्कको परीक्षा हुने उहाँले जानकारी दिनुभयो ।
लामो समयसम्म पठनपाठन नहुँदा विद्यार्थी बिग्रने भन्दै शिक्षकहरु चिन्तित बनेको अवस्थामा अहिले भौतिक उपस्थितिमा पढाइ हुँदा शिक्षकसँगै विद्यार्थी पनि उत्साहित रहेका छन् । निषेधाज्ञामा विद्यालय ठप्प हुँदा विद्यार्थीको भविष्यप्रति जति विद्यालय र शिक्षक चिन्तित छन्, त्यति स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले ध्यान नदिएको शिक्षकहरुको गुनासो रहेको थियो ।