मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः मकवानपुर जिल्लाभित्र कोभिड–१९ संक्रमणको दर क्रमशः न्यून हुँदै गएको अवस्था छ । तर मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भने शुक्रबार राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका विभिन्न आदेशहरु जारी गर्नुभएको छ । जुन लागू हुन मुस्किल देखिएको छ ।

यसअघि पनि विभिन्न आदेशहरु जारी भएपनि पूर्ण पालना भने हुन सकेको थिएन । अत्यावश्यक काम परी घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने भन्ने पहिलो नम्बरको बुँदाको आदेशको पालना जिल्लामा नहुने देखिएको छ । अहिले जिल्लामो विभिन्न राजनैनिक दलहरुको भेला, सम्मेलन चलिरहेको छ । यस्तै बडादशैं नजिकिएसँगै बजारमा समेत चहलपहल बढेर भिडभाड देखिन्छ । यस्तो समयमा प्रशासनले आदेश गरेरमात्रै नियन्त्रण गर्नसक्ने अवस्था छैन ।

प्रशासनले पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता गरी, गराई सञ्चालन गर्न आदेश गरेको छ । सभा, गोष्ठी, तालिम, सेमिनार र विवाह, ब्रतबन्धजस्ता सामाजिक कार्यहरू भिडभाड नहुने सुनिश्चित गरी न्यूनतम सहभागितामा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न भनेको छ ।

चाडपर्वहरू जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरूपमा मात्र मनाउन प्रशासनले भनेको हो । धार्मिक प्रतिष्ठानहरूमा धार्मिक, सांस्कृतिक र सामाजिकलगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालनमा प्रशासनले रोक लगाएको छ । मेला, महोत्सव, सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गर्न नपाउने, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा अभिभावकहरूको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिसबमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्नेगरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरेर सञ्चालन गर्ने, सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तीय संस्था र सहकारीहरूले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी भिडभाड नहुने सुनिश्चितता गरी सेवा सञ्चालन गर्नुपर्ने, पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात र विद्यालय सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा पालना नगर्नेलाई आदेश अवधिभरका लागि बन्द गराउने चेतावनी प्रशासनले दिएको छ ।

यस्तै, सामाजिक संघ-संस्थाहरु, निजी क्षेत्र, सहकारी क्षेत्र र नागरिक समाजको समन्वयमा मास्क अभियान नियमितरुपमा सञ्चालन गर्ने तथा कोभिडको संक्रमण दर बढ्दै गएमा कुनै पनि समयमा आदेशहरु परिमार्जन गर्न सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।