नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष चन्द्र शाही ।

हेटौंडाः खेलकुद क्षेत्रको विकास गर्नका लागि स्थानीय क्लबहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष चन्द्र शाहीले बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र खेलकुदको विकास गर्नकै लागि नगर खेलकुद विकास समिति निर्माण भएकाले सो उद्देश्य पूरा गर्न स्थानीयस्तरमा रहेका क्लब तथा संघसंस्थाहरुसँग सहकार्य गर्नु अत्यावश्यक रहेको उहा“को भनाई छ ।

पालिकास्तरमा नै खेलकुद विकास समिति निर्माण भएपछि खेलकुदका गतिविधिमा वृद्धि गर्न तथा विकास निर्माणमा सहज हुने उहाँले दाबी गर्नुभएको छ । उपमहानगरपालिकाबाट खेलकुदको विकासका लागि प्राप्त बजेटलाई सहजरुपमा कार्यान्वयन गर्न र नगरका सबै क्षेत्रमा समानुपातिकरुपमा खेलकुदको विकास गर्न नगर खेलकुद विकास समितिले धेरै सहजता प्रदान गरेको उहाँले बताउनुभयो ।

समिति निर्माण हुनुअघि उपमहानगरपालिकाबाट आयोजना हुने गरेका खेलकुदका कार्यक्रमहरुलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्दै निरन्तरता दिनुका साथै खेलकुदका कार्यक्रमलाई हरेक क्षेत्रमा सक्रियता प्रदान गर्न स्थानीयस्तरमा भएका क्लबहरुलाई खेल सामग्री सहयोग गर्दै अगाडि बढ्ने पनि अध्यक्ष शाहीले बताउनुभएको छ ।

बिहीबार मकवानपुर बेरोजगार संगठनलाई १० हजार रुपैयाँ बराबरको फुटबल तथा खेल सामग्री प्रदान गर्नुभएपछि उहाँले नगर खेलकुद विकास समितिसँग खेल सामग्री सहयोगको माग गर्दै आएका सबै क्लबहरुलाई सहयोग प्रदान गरी खेल क्षेत्रको विकास गर्ने योजना रहेको उहाँको भनाई छ ।

चालु आर्थिक वर्ष सुरु भएपछि (साउनयता) हालसम्म ७ वटा क्लबलाई करिब ८० हजार रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरिसकिएको उहाँले जानकारी दिनुभयो । थप ५ वटा क्लबहरुले पनि सहयोगका लागि माग गरेकाले उनीहरुलाई पनि सहयोग प्रदान गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

खेलकुदका लागि भौतिक संरचना निर्माण गर्नका लागि नगर खेलकुद विकास समितिकै योजनाअनुरुप बजेटहरु विनियोजन भएअनुसार धेरैजसो स्थानमा संरचना निर्माणका लागि सम्झौता भएर कामसमेत सुरु भएको जनाइएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशाला निर्माणका लागि ७५ लाख रुपैयाँ, हेटौंडा–१७ मा फुटसल निर्माणका लागि १ करोड १० लाख रुपैयाँ, हेटौंडा–१४ मा ब्याटमिन्टन कोर्ट निर्माण गर्न १५ लाख रुपैयाँ बजेट प्रदान गर्ने योजना हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बनाएको छ ।

यस्तै, हेटौंडा–८ मा प्याराफिट निर्माण गर्न १ करोड ६५ लाख, हेटौंडा–५ को राईटोल हाइट चौर फुटसल निर्माण गर्न ८ लाख रुपैयाँ, अमर माविमा हल व्यवस्थापन गर्न ५ लाख रुपैयाँ, हेटौंडा–१८ दोभानचौरमा खेलकुद विश्राम भवन र खेलमैदान निर्माण गर्न १० लाख रुपैयाँ तथा हेटौंडा–१८ मै ज्योति खेलमैदान निर्माण गर्न ५ लाख रुपैयाँ प्रदान गरिने पनि नगर खेलकुद विकास समितिका सचिवालय सदस्य मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी विभिन्न क्लबले आयोजना गर्ने खेलकुदका कार्यक्रमहरुमा पनि उपमहानगरपालिकाले सहकार्य गर्ने भएको छ भने केही कार्यक्रम आफैंले आयोजना गर्ने जनाइएको छ । मेयर कप फुटबल प्रतियोगिता, हेटौंडा रन प्रतियोगिता हेटौंडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिले आफैं सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकाको सहकार्यमा उपमेयर कप भलिबल प्रतियोगिता जिल्ला भलिबल संघ, राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता नगर छनोट जिल्ला खेलकुद विकास समिति, बुद्धिचाल प्रतियोगिता जिल्ला बुद्धिचाल संघले नै आयोजना गर्नेछ । यस्तै भेट्रान्स कप फुटबल प्रतियोगिताका लागि उपमहानगरपालिकाले ४ लाख रुपैयाँ र मकवानपुर गोल्डकपका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । गौरीटारमा क्रिकेटका लागि पूर्वाधार निर्माण गर्न जिल्ला क्रिकेट संघलाई १० लाख रुपैयाँ प्रदान गरिएको र राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउन तथा खेलाडीहरुलाई सहयोग प्रदान गर्न १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।