संकेतिक तस्बिर

हेटौंडाः विजया दशमी २०७८ को अवसरमा हेटौंडा रन प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका तथा नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा यही असोज २१ गते हेटौंडा रन प्रतियोगिता हुने भएको हो ।

हेटौंडा उपमहानगरपालिकालाई खेल क्षेत्रमा उत्कृष्ट नगरपालिका बनाउने उद्देश्यका साथ योजनाअनुसारका खेलकुद प्रतियोगिताहरुमध्ये हेटौंडा रन आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्र रहेका क्लब, संघसंस्था र हेटौंडा उपमहानगरपालिकाका स्थायी बासिन्दाहरुले मात्र सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । बसाईंसराई गरी आएकाको हकमा सोको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

प्रतियोगिताबाट स्थानीय खेलाडी, क्लब तथा संघसंस्थालाई प्रोत्साहन मिल्ने अध्यक्ष शाहीको भनाई छ । उक्त कार्यक्रमले दशैं तथा तिहारको आरम्भ भएको संकेतसमेत गर्ने उहाँले बताउनुभयो । घटस्थापनाका दिन आयोजना हुने प्रतियोगिता लोकतान्त्रिक (हुप्र) चौरमा आयोजना हुने जनाइएको छ । हेटौंडा–४ स्थित हुप्र चौरबाट सुरु हुने दौड शीतलमहल चोकबाट कान्तिराजपथ हुँदै क्याम्पा डाँडाको खेलमैदान पुगेर गर्दोही चोकबाट हुप्र चौर आएर समापन हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गर्ने योजना रहेपनि पुरस्कारको विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको अध्यक्ष शाहीले बताउनुभयो । प्रतियोगिताका लागि वडा प्रहरी कार्यालय हेटौंडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा हेटौंडाभित्र रहेका क्लब तथा संघसंस्थाहरुसँग सहकार्य गरिने पनि उहाँले जानकारी दिनुभयो ।