
हेटौंडाः विश्व फुटबल महासंघ (फिफा) ले भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै १० वर्ष प्रतिवन्ध व्यहोरिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापासँग फुटबल एकेडेमी सञ्चालन गर्ने सम्झौताको आलोचना भएपछि हेटौंडा उपमहानगरपालिकाले सम्झौता रद्द गरेको छ ।
हेटौंडा उपमहानगरपालिका र गणेश थापा सम्वद्ध नेपाल स्पोर्टस अर्गनाइजेशनबीच हेटौंडामा फुटबल एकेडेमी सञ्चालन गर्ने सम्झौता मंगलबार भएको थियो । फुटबल एकेडेमी सञ्चालन गर्न हेटौंडा उपमहानगरपालिकाले गणेश थापा सम्वद्ध नेपाल स्पोर्टस अर्गनाइजेशनलाई २५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियो । हेटौंडा उपमहानगरपालिकाले विशेष कारणवस नगर प्रमुखस्तरबाट बिहीबार सम्झौता रद्द गरिएको जानकारी प्रेस विज्ञप्ति जानकारी गराएको छ ।
हेटौंडा उपमहानगरपालिकाको तर्फबाट हस्ताक्षर गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले गणेश थापालाई फिफाले प्रतिवन्ध लगाएको जानकारी नै नभएको प्रतिक्रिया दिनुभएको थियो ।