पदभार ग्रहण गर्दै स्वास्थ्य सचिव बद्रि बहादुर खड्का ।

हेटौंडाः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको पहिलो सचिवको रुपमा बद्रीबहादुर खड्काले बुधबार पदभार ग्रहण गर्नुभएको छ । भागबण्डा नमिलेपछि बागमती प्रदेशमा गत भाद्र २७ गते सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर स्वास्थ्य मन्त्रालय थपिएको थियो । नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा नगएका सांसदहरुलाई रिझाउन स्वास्थ्य मन्त्रालय थपिएको थियो ।

प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य निकट प्रदीप कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार पारेर स्वास्थ्य क्षेत्रको व्यक्तिलाई सचिव बनाउने प्रदेश सरकारले संरचना तयार पारेको थियो । यसअघि सचिव पद प्रशासनको व्यक्ति राख्ने निर्णय गरेको प्रदेश सरकारले स्वास्थ्यको कर्मचारी र संघसंस्थाको प्रेसरमा स्वास्थ्य क्षेत्रको व्यक्ति नै सचिव बन्न पाउने गरी संरचना तयार पारेको हो ।

मन्त्री नियुक्त भएको १५ दिनपछि मात्रै स्वास्थ्य मन्त्रालयले सचिव पाएको छ । यस्तै सामाजिक विकास मन्त्रालयअन्तर्गत् काम गरिरहेको स्वास्थ्यका कर्मचारी स्वास्थ्य मन्त्रालयको मातहतमा आएको स्वास्थ्य मन्त्री प्रदीप कटुवालले बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयको कार्यालय व्यवस्थित हुन अझै केही समय लाग्ने बताउनुभयो । कर्मचारीको सेवा, सुविधालगायत रिक्त पदहरुमा कर्मचारी नियुक्तिलगायत चालु आर्थिक वर्षको स्वास्थ्यको योजनाहरु कार्यान्वय गर्ने प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो ।

यसअघि सामाजिक विकास मन्त्रालयबाट हुने गरेको स्वास्थ्यका सबै काम अब स्वास्थ्य मन्त्रालयले हेर्नेछ । यस्तै कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन, अस्पताल व्यवस्थापन, कोरोना नियत्रण र रोकथाममा स्वास्थ्य मन्त्रालयको पहुँच हुनेछ ।

स्वास्थ्य मन्त्री कटुवालले थोरै समयमा धेरै काम गरेर देखाउनुपर्ने चुनौती यो सरकारलाई भएको बताउनुभयो । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता भएको भन्दै देखिने खालको कामहरु गर्ने बताउनुभयो । अहिलेको आवश्यकताअनुसार खोप व्यवस्थापन, अस्पतालको उपकरण, जनशक्तिलगायत क्षेत्रमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गरिरहेको मन्त्री कटुवालले बताउनुभयो । यस्तै प्रदशका १३ जिल्लामा मास्क, सेनिटाइजर, ग्लोब्स, पीपीई, थर्मलगनलगायतका मन्त्रालयमा भएको सामग्री पठाइएको बताउनुभयो ।