हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले बागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई स्वागत गरेको छ । हेटौंडा–४ बाट प्रदेश सरकारको राज्यमन्त्री बन्न अवसर पाएकोमा वडा कार्यालयले आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री श्रेष्ठलाई स्वागत गरिएको हो ।

उहाँलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले स्वागत गर्नुभएको थियो । हेटौंडा ४ नम्बर वडा कार्यालयले आफ्नो वडाको विकास निर्माणमा प्रदेश सरकारबाट भरपूर्ण सहयोग प्राप्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री पौडेलाई सम्मान गरेको छ ।

यस्तै, हेटौंडा ४ मा ५ वर्षसम्म वडाको काममा निरन्तर लागेर सहयोग गरेको भन्दै विभिन्न टोलविकास संस्थालाई सम्मान गरिएको वडाअध्यक्ष नवीन सिग्देलले बतानुभयो । उहाँले हेटौंडा ४ मा ५ वर्षको अवधिमा २२ करोडभन्दा बढीको काम भएको भन्दै हेटौंडा उपमहानगरको भन्दा पनि बागमती प्रदेश सरकारको विकास बजेट बढी परेको बताउनुभयो ।

आफू वडा अध्यक्ष भएपछि ४ नम्बर वडामा धेरै विकास भएको भन्दै देखिने गरेर काम गरेको दाबी सिग्देलले गर्नुभयो । वडा कार्यालयले आयोजना गरेको अन्तरक्रियामा वडालाई अझ व्यवस्थित बनाउन स्थानीयहरुले सुझावसमेत दिएका थिए ।