हेटौंडाः चाडपर्वमा यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुल्ने, मोटरसाइकलले ध्वनि प्रदुषण गर्ने तथा बसपार्क क्षेत्रमा यात्रु ठगिने विषयलाई लिएर सचेत नागरिक युवा समूहले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ध्यानाकर्षणपत्र बुझाएको छ । सोमबार समूहका पदाधिकारी तथा सदस्यहरुले ट्राफिक प्रहरी कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो ।
चाडपर्वको समयमा यात्रुसँग विशेषगरी सुमो व्यवसायीले चर्को भाडा असुल्ने गरेको अवस्थालाई ध्यानमा राखी यस बर्ष त्यस्तो नहोस् भनी ट्राफिक प्रहरीलाई अग्रीम ध्यानाकर्षण गराउन चाहेको सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझाउनुअघि अध्यक्ष श्रेष्ठले ट्राफिक प्रहरीले जनताको सहजताका लागि, जनता नठगिउन् भनेर सचेत हुनुपर्ने बताउनुभयो । यस्तै युवा पुस्ताले मोटरसाइकलको स्वरुप बिगारेर उच्च ध्वनि आउने गरी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै वातावरण समेत प्रदुषित भएको सचेत नागरिकले जनाएको छ ।
सचेत नागरिक युवा समूहको ध्यानाकर्षणपत्र बुझ्नु हुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको बताउनुभयो । मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, ध्वनि प्रदुषण रोक्न प्रहरीले नियमित काम गर्दै आइरहेको जानकारी गराउनुहुँदै सचेत नागरिक समूहको ध्यानाकर्षणपछि यसलाई थप प्रवाभकारी बनाउने नेपालको भनाइ थियो । चाडपर्वलाई नै लक्षित गरी ट्राफिक सप्ताहको आयोेजना गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाउन सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठ, सचिव चुडाराज उप्रेती, सल्लाहकार सविन भट्टाचार्यसहित सदस्यहरुको उपस्थिति रहेको थियो । कोभिड–१९, संक्रमणका बेला सचेत नागरिक समूहले विपन्न परिवारलाई खाद्यान्न वितरण, सुरक्षाकर्मीलाई खाजा सहयोगको कार्य गर्नुका साथै नेपाल विद्युत प्राधिकरणले वक्यौता रकम उठाउन गरिरहेको ढिलाई, विद्युत अनियमित भइरहेको विषयमा प्राधिकरणको ध्यानाकर्षण गराएको थियो ।