Home खेलकुद सी डिभिजन लिग छनोटः सुजनको ह्याट्रिकमा मकवानपुरको आरआरवाईसीको विजयी सुरुवात

सी डिभिजन लिग छनोटः सुजनको ह्याट्रिकमा मकवानपुरको आरआरवाईसीको विजयी सुरुवात

सी डिभिजन लिग छनोट प्रतियोगितामा सहभागी मकवानपुरको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) का खेलाडीहरु ।

हेटौंडाः डिभिजन लिग प्रवेशको लागि मुल ढोकाको रुपमा रहेको सी डिभिजन लिग छनोट प्रतियोगितामा मकवानपुरको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले विजयी सुरुवात गरेको छ । सोमबार चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोकसँग भएको खेलमा आरआरवाईसीले सानदार जीत निकाल्दै छनोट प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान साढे ९ बजेबाट सुरु भएको खेलमा आरआरवाईसीले चौतारा स्पोर्टिङ क्लबलाई ५–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ । खेलको २४ औं मिनेटमा चौतारा स्पोर्टिङ क्लबले सुरुवाती गोल गरेपछि आरआरवाईसी केही दबावमा आएपनि खेललाई सम्हाल्दै १–० गोलले पछाडी परेको अवस्थालाई उल्ट्याएर आरआरवाईसीले ५–१ गोलको उत्कृष्ट जीत निकालेको हो । आरआरवाईसीलाई जीत दिलाउनका लागि सुजन गुरुङले ह्याट्रिक गरेका छन् । म्यान अफ दि म्याच आरआरवाइसीका लागि ह्याट्रिककर्ता सुजन गुरुङ घोषित भए ।

आरआरवाइसीले असोज ६ गते समुहचरणको दोस्रो खेलमा रानीवन स्पोर्टस क्लब बाजुराको सामना गर्नेछ । ३ टिम रहेको समुहमा समूह विजेता टिममात्र प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्नेछ भने बाँकी २ टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

यस्तै सी डिभिजन छनोट अन्तर्गत नै असोज ५ गते मंगलबार हेटौंडाको एफसी विजय युथले समुह चरणको पहिलो खेलमा भ्याली इगल्स क्लब भक्तपुरसँग प्रतिस्पर्धा गर्दैछ । भ्याली इगल्स क्लबले आफ्नो समुह चरणको पहिलो खेलमा इराहिटी रानीवन बहुउद्देश्य युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरिसकेको छ । विजय युथले दोस्रो खेल असोज ७ गते इराहिटी रानीवनसँग खेल्नेछ । एन्फा कम्प्लेक्समा हुने यी सबै खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

Exit mobile version