हेटौंडाः थाहा नगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी विद्यालयको सहकार्यमा थाहा नगरपालिकामा एकदिने शैक्षिक अन्तरक्रिया भएको छ । शिक्षक महासंघ थाहा नगरपालिका समिति अध्यक्ष तथा नगर शिक्षा समितिका सदस्य राजाराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका मेयर लवशेर विष्टको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनालले विद्यालयको संरचना तथा भावी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विज्ञान विषय कसरी पढाइ हुन्छ भन्ने विषयमा नवोदय विद्यालयका विज्ञान संयोजक अरुण दहाल, प्राथमिक तहमा ग्रेड शिक्षण आवश्यक पर्दछ भन्ने विषयमा शिक्षिका जमुना थापा र सोहिता भट्टराई, नेपाली भाषा र साहित्यको कसरी जगेर्ना गर्ने, कक्षाकोठामा विधागत रूपमा कसरी शिक्षण गराउने भन्ने कुरामा नेपाली विषयका सुपरिवेक्षक सिएम रिमाल, अंग्रेजी विषयको प्रयोग किन र कसरी गर्ने भनेर अंग्रेजी विषयका सुपरिवेक्षक मनोज लामा र सामाजिक विषयका सुपरिवेक्षक गौतम पोखरेलले सामाजिक विषयको बारेमा सहजीकरण गरेका थिए ।
थाहा नगरपालिकामा रहेका संस्थागत तथा सामूदायिक विद्यालयमा अध्यापन गराउने विषयगत शिक्षक, शिक्षिका, विभिन्न विद्यालयका प्रिन्सिपल तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज सुवेदीले निजी विद्यालयले गर्न खोजेका कार्यहरू अनुकरणीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, नगर शिक्षा समिति सदस्य तथा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानुभाई कार्कीलगायले मन्तव्य राख्नुभएको थियो ।