हेटौंडाः हेटौंडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ गते निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा विक्री गर्ने निर्णय गरेको छ । यसअघि प्रतिबोरा सात सय ४७ रुपैयाँमा उद्योगले विक्री गर्दै आएको थियो ।
निजी क्षेत्रको सिमेन्टको मूल्य घटेसँगै हेटौंडा सिमेन्टले पनि मूल्य समायोजन गरेको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनुभयो । निजी क्षेत्रका उद्योगले बजारको मागका आधारमा रणनीतिक रुपमा मूल्य निर्धारण गर्ने गरेको उल्लेख गर्नुहुँदै महाप्रबन्धक सिंहले हेटौंडा सिमेन्टले पनि अबदेखि मासिक रुपमा बजारको माग र निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्ने गरी मूल्य समायोजन गर्ने बताउनुभयो ।
हेटौंडाकै शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा छ सय ८० रुपैयाँ र रिद्धिसिद्धि सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा सात सय रुपैयाँमा बिक्री गरिरहेको छ । निजीक्षेत्रका उद्योगहरुले नगद भुक्तानी गर्दा नगदै छुट दिने, बिक्रीका आधारमा बोनस दिने गरेको सिमेन्टको कारोबार गर्दै आएको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिनुभएको छ ।