सम्झौतापछि सामुहिक तस्बिर खिचाउँदै ।

हेटौंडाः देशकै सर्वाधिक धनराशिको पुरस्कार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताका लागि बागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ । यी दुबै प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फा र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्बिच सम्झौता भएको छ । शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीबीच दुबै प्रतियोगितामा प्रदेश सरकारले सहकार्य गर्दै १ करोड रुपैयाँ प्रदान गर्ने गरी सम्झौता भएको हो ।

देशकै सबैभन्दा पुरानो लिग फुटबलको रुपमा रहेको ‘ए’ डिभिजन लिगलाई बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पा र सदस्यसचिव भण्डारीले बागमती प्रदेशको आर्थिक वर्ष २०७८-०७९ को बजेट कार्यक्रममै ‘ए’ डिभिजन लिगलाई ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने व्यवस्था भएअनुसार यसलाई कार्यान्वयन गर्नका लागि सम्झौता गरिएको जानकारी दिनुभयो ।

सम्झौताअनुसार प्रदेश सरकारले ‘ए’ डिभिजन लिगमा हुने ९१ वटा खेलमा प्रत्येक खेलको विजेता टिमलाई म्याचमनिको रुपमा ५० हजार रुपैयाँको दरले रकम प्रदान गरिनेछ । खेल बराबरी भएमा दुबै टिमलाई २५-२५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

सम्झौताअनुसार खेल सकिएको १ हप्ताभित्रमा सम्बन्धित खेलको विजेता टिमको बैंक खातामा सामाजिक विकास मन्त्रालयले नै उक्त रकम उपलब्ध गराइनेछ । यसरी ९१ खेलका लागि ४५ लाख ५० हजार रुपैयाँ, प्रतियोगितामा उदयमान खेलाडी (राइजिङ प्लेयर)का लागि १ लाख रुपैयाँ तथा प्रतियोगितासम्बन्धी अफिसियल खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

एन्फाले प्रत्येक ७ खेलपछि फोटोसहितको म्याच रिपोर्ट परिषद्लाई पेश गर्नुपर्ने, म्याच मनिका लागि सहभागी क्लबहरुको प्यान नम्बर, बैंकको नाम र खाता नम्बर तथा आवश्यक कागजातहरु उपलब्ध गराउनुपर्ने साथै प्रतियोगिता सम्पन्न भएपछि प्रतियोगिताको प्रतिवेदन पेश गर्नुपर्ने सम्झौता भएको परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिनुभयो ।

उहाँले ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा बागमती प्रदेश सरकारले म्याच मनिको रुपमा प्रदान गर्न लागेको रकमले क्लबहरुबीच हुने म्याच फिक्सङका घटनालाई हटाउने विश्वास लिएको बताउनुभएको छ । खेलाडीहरुलाई खेलेर नै आफ्नो जीवन निर्वाह गर्नसक्ने स्थिति सिर्जना गर्नका लागि प्रदेश खेलकुद विकास परिषद्ले काम गर्न तत्पर रहेको उहाँले बताउनुभएको छ । साथै खेलकुद क्षेत्रमा प्राप्त भएको बजेटलाई फ्रिज भएर जान नदिनका लागि पनि सम्बन्धित खेल क्षेत्रको संघसंस्थासँग सम्झौता गरी बजेट योजनाहरु सोही खेलका संघसंस्थाहरुबाट नै कार्यान्वयन गराउने पद्धतिको विकास गर्ने सुरुवात गरिएको समेत भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशकै योजना तथा कार्यक्रमअन्तर्गत् ५० लाख रुपैयाँ बजेट परेको प्रदेश लिग फुटबल प्रतियोगिता आयोजना गर्न पनि एन्फा र परिषद् बिच सम्झौता भएको छ । प्रदेशले आयोजना गर्ने प्रदेश प्रतियोगिता र प्रदेश लिग फुटबललाई सँगसँगै आयोजना गर्ने गरी सम्झौता भएको हो । प्रदेश फुटबल लिग सञ्चालनका लागि ५० लाख रुपैयाँ बागमती प्रदेशले प्रदान गर्नेछ भने प्रतियोगिताका लागि बाँकी रकम एन्फाले नै व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

बागमती प्रदेश र एन्फाबीच भएको सम्झौताले बागमती प्रदेशको खेल क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले बताउनुभएको छ । गतवर्ष कोरोना संक्रमणका कारण खेल क्षेत्र पछाडि परेको अवस्थामा खेल क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफू मन्त्री भएपछि खेलकुद विकास परिषद्सँग छलफल गर्दै खेलकुदलाई प्राथमिकताको रुपमा लिएको उहाँको भनाई छ ।

बागमती प्रदेशमा खेल क्षेत्रको विकासका लागि यसलाई प्रदेशको नीति तथा वार्षिक कार्यक्रममा समावेश गरेर वार्षिकरुपमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री सुवेदीले खेलकुदलाई आन्दोलनको रुपमा विकास गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यसका लागि देशभर हरेक दिन खेलकुदका कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । यसबाट विश्वस्तरमा समेत खेलाडीहरुले उच्च प्रदर्शन गर्नसक्ने उहाँको भनाई रहेको छ ।

काठमाडौंमा केन्द्रित रहेको फुटबल प्रतियोगितालाई विकेन्द्रित गर्दै एन्फाले हरेक स्थानमा फुटबलको माहोल सिर्जना गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँले राष्ट्रियस्तरको प्रतियोगितालाई प्रदेश तथा जिल्लाजिल्लामा नै पुर्‍याउने योजना रहेको बताउनुभयो । फुटबल विकासका लागि बागमती प्रदेश सरकारले उत्साहजनकरुपमा सहयोग प्रदान गरेको भन्दै अध्यक्ष शेर्पाले खुशी व्यक्त गर्नुभयो ।

बागमती प्रदेशले ‘ए’ डिभिजन लिगका लागि ५० लाख रुपैयाँ प्रदान गरिरहँदा गण्डकी प्रदेशले ४० लाख रुपैयाँ तथा कर्णाली प्रदेशले समेत २० लाख रुपैयाँ प्रदान गरेको उहाँले जानकारी दिनुभयो । ६७ वर्ष पुरानो ‘ए’ डिभिजन लिगलाई एक सिजन ८ महिनासम्म चल्ने गरी लम्ब्याउने तयारी रहेको पनि उहाँले बताउनुभएको छ । जसले गर्दा खेलाडीहरुले वर्षभरी नै खेल्न पाउने र आफ्नो जीविकोपार्जन गर्न पाउने अवस्था बन्ने उहाँको भनाई छ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजि विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामालगायतको उपस्थिति रहेको थियो ।