हेटौंडाः घरबाट विद्यालय जान्छु भनि निस्किएर बेपत्ता भएका मकवानपुरका ३ बालबालिका प्रहरीको सक्रियतामा फेला परेका छन् । कैलाश गाउँपालिका–९ स्थित कालिका माविमा अध्ययनरत ३ बालबालिका आइतबार काठमाडौंमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा उनीहरुलाई आइतबार साँझ काठमाडौं महानगरीय प्रहरीको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरबाट पढ्न विद्यालय निस्केका कैलाश–९ का ११ बर्षीया बाटुली सुनार, १० बर्षीया सुष्मा योन्जन र १३ बर्षीय बोध सुनारलाई काठमाडौमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहानबाट बेपत्ता भएका बालबालिकाहरु गाडीमा काठमाडौँमा पुगेका हुन् ।
काठमाडौंमा उनीहरुको फुपुको घर भएको र यसअघि पनि उनीहरु काठमाडौँ गइरहने गरेको अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा फेला परेका उनीहरुलाई प्रहरीले फुपुको जिम्मा लगाएको पनि प्रहरी नायब निरिक्षक दासले बताउनुभयो ।