हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय छुट्टै बनाउनुभएको छ । भाद्र २३ गते उहाँले सामाजिक विकास मन्त्रालयलाई फुटाएर सामाजिक विकास मन्त्रीमा विजयी सुवेदी, राज्यमन्त्रीमा जुनेली श्रेष्ठ र स्वास्थ्य मन्त्रीमा प्रदिपकुमार कटुवाल क्षेत्रीलाई नियुक्त गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालयलाई छुट्टै मन्त्रालय बनाएसँगै स्वास्थ्य सचिव पनि स्वास्थ्य क्षेत्रको व्यक्ति हुनुपर्ने बागमती प्रदेशको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लुम्बिनी र गण्डकीमा स्वास्थ्य मन्त्रालय स्थापना भइसकेको छ । स्वास्थ्यको ११ औं तहका वरिष्ठ अधिकारीले सचिवका रुपमा प्रशासनको नेतृत्व गर्दै आएका छन् । सोहीअनुसार बागमती प्रदेशको नयाँ गठन भएको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासनको नेतृत्व गर्ने सचिवमा प्रशासनतर्फका कर्मचारी दिने तयारी अगाडि बढाएपछि प्रदेशका स्वास्थ्य अधिकारी र कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले अहिले लुम्बिनी र गण्डकीका स्वास्थ्य मन्त्रालयमा कर्मचारी प्रशासनको नेतृत्व स्वास्थ्यका कर्मचारीले नै गरिरहेको भन्दै बागमती प्रदेशमा पनि स्वास्थ्यतर्फकै कर्मचारीलाई सचिव बनाउन माग गरेका छन् ।

स्वास्थ्यका अधिकारीहरुले नयाँ स्थापित भएको स्वास्थ्य मन्त्रालयको दरबन्दी संरचनामा स्वास्थ्य सेवाको ११ औं तहको सचिव दरबन्दी सिर्जना गर्न माग गरेका हुन् । स्वास्थ्य सेवाबाहेकको सचिवको दरबन्दी सिर्जना गरिए स्वास्थ्य सेवाका कर्मचारीहरुले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

स्वास्थ्यका कर्मचारीहरुमा स्वास्थ्य शिक्षा तथा प्रवद्र्धन संघ नेपालका अध्यक्ष बद्रीबहादुर खड्का, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेल, हेटौडा प्रादेशिक अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटा, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेशका अध्यक्ष सतिस विष्ट, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका डा. पुरुषोत्तमराज सेढाई, डा. रविन भुषाल, प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अर्जुन सापकोटा, डा. सुरेश महर्जनलगायतका स्वास्थ्यका कर्मचारीहरु रहेका छन् । उनीहरुले बागमती प्रदेशको मुख्यमन्त्रीलाई पनि यसबारे ध्यानकर्षण गराएका छन् ।

सामान्य प्रशासनले सबै प्रदेशमा स्वास्थ्य सेवातर्फकै व्यक्तिलाई स्वास्थ्य सचिव बनाएर पठाउने तयारीसमेत अगाडि बढाएर स्वास्थ्य मन्त्रालयबाट योग्यता पुगेका ११ औं तहका सहसचिवहरुको नामावली मागेको थियो । तर, संघीय प्रशासन मन्त्रालयकै तयारीविपरित प्रदेशले प्रशासनको सचिव बनाउने तयारी गरेको बुझिएको छ ।

बागमती प्रदेशमा समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुलाई थप प्रोत्साहन हुने भएकाले स्वास्थ्यको सचिव बनाउन माग गरिएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्र संवेदनशील भएको भन्दै स्वास्थ्य क्षेत्रको जानकार व्यक्ति सचिवमा हुनुपर्ने बताउनुभयो । बागमती प्रदेशमा ११ औं तहको कर्मचारीले प्रशासनको नेतृत्व गर्दा कर्मचारीहरु उत्साहित हुने उहाँको भनाई छ ।

सरकारी चिकित्सक संघ (गोदान) नेपालले पनि स्वास्थ्य सचिवमा प्रशासनको सचिव ल्याउने विषयको विरोध गरेको छ । बागमती प्रदेशमा गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दीमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य ज्ञान नभएको व्यक्तिलाई मन्त्रालयको प्रशासनको नेतृत्व दिनु हास्यास्पद र गैरजिम्मेवारी भएको भनेको छ । गोदानमा अध्यक्ष डा. रविन खड्का र महासचिव कीर्तिपाल सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यजस्तो निकै प्राविधिक र मानव जीवनसँग प्रत्यक्ष जोडिएको सेवालाई गैरस्वास्थ्य समूहको र स्वास्थ्य विधाबारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्यास्पद र गैरजिम्मेवार एवम् खेदपूर्ण छ ।’ गोदानले उक्त प्रस्तावित दरबन्दी सच्चाएर स्वास्थ्य सेवाकै सचिवको दरबन्दी राख्नसमेत माग गरेको छ ।