तस्बिर google.com ।

हेटौंडाः नक्कली नोटको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढस्थित एक होटलबाट नक्कली नोटसहित शनिबार ५ जनालाई पक्राउ गरेको हो ।

निजगढ–८ मा रहेको तारा इन होटलमा कोठा भाडा लिई केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली होटलमा गई खानतलासी गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट १ हजार दरका नक्कली नेपाली रुपैयाँ २५ थान, बा ९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिलकुमार राम, ३६ वर्षीय रवीन्द्रकुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ का ३६ वर्षीय विश्वेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ वर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि–९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका–५ इटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाह रहेका छन् ।

पक्राउ परेकाहरुसँग सोधपुछपछि इलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी सुनिल रामको घरमा खानतलासी गर्दा नेपाली रुपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी एक सय थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रुपैयाँ १ हजार दरको नोट ३९ थान, भारतीय नम्बर प्लेटको सुपर स्प्लेण्डर मोटरसाइकल र प्रदेश २–०३–००१ प ४२६५ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई मुद्रासम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।