हेटौंडाः आगामी असोज ३ गते संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउन प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी सुरु गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा १ सय ५१ सदस्यीय संविधान दिवस मुल आयोजक समिति गठन गरिएको छ । मुख्यमन्त्री शाक्यको अध्यक्षतामा प्रदेशका मन्त्री, राज्यमन्त्री, विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित कार्यालयका प्रमुखहरुको सहभागितासहितको बैठकले ३ दिनसम्म विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले सरसफाई, परिसम्वाद, खेलकुद, म्यूजिकल थेरापी, रक्तदान, वृक्षरोपणलगायत कार्यक्रम गर्ने निर्णय गरेको संघीय मामिला मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिनु भयो । ५ किलोमिटर दौड र व्याडमिन्टन प्रतियोगिता जिल्ला खेलकुद विकास समितिले समन्वय गर्ने, रक्तदानको समन्वय युवा परिषदले गर्ने, वृक्षरोपणको समन्वय वन तथा वातावरण मन्त्रालयले, म्यूजिकल थेरापीको समन्वय जिल्ला प्रहरी कार्यालयले गर्ने निर्णय भएको सचिव भुजेलले जानकारी दिनुभयो ।