हेटौंडाः बाराको सिमरामा आयोजना हुन गइरहेको भेट्रान्स कप फुटबल प्रतियोगितामा हेटौंडाका ३ वटा क्लबले सहभागिता जनाउने भएको छ । कोशेली युथ क्लबको आयोजनामा यही असोज १ गतेबाट सुरु हुने हुलास कप ८ ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगितामा हेटौंडाका ३ क्लबसहित कुल २० क्लबले सहभागिता जनाउने भएको हो ।

प्रतियोगितामा हेटौंडाको एफसी कालभैरब, फ्रेन्डसिप भेट्रान र नागस्वती भेट्रान क्लबले सहभागिता जनाउँदैछन् । नकआउट चरणमा हुने प्रतियोगिताको पहिलो दिन अर्थात् असोज १ गते एफसी कालभैरबले भेट्रान सिटी वीरगञ्जसँग प्रतिस्पर्धा गर्दैछ । फ्रेन्डसिप भेट्रानले असोज २ गते वीरगञ्ज युथ एकेडेमी भेट्रानसँग र नागस्वती भेट्रानले असोज ३ गते पश्चिम चितवन भेट्रानसँग प्रतिस्पर्धा गर्ने भएको छ । कुल १९ खेल हुने प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा आयोजक हुलास फुटबल क्लब, सिमरा भेट्रान, चपुर भेट्रान, वीरगञ्ज सिटी भेट्रान, बागमती भेट्रान सर्लाही, कोल्वी भेट्रान, जैतापुर भेट्रान, बकुलिया भेट्रान, अभिषेक चर्च भेट्रान नवलपरासी, बौद्ध भेट्रान काठमाडौं, चावहिल भेट्रान काठमाडौं, फ्रेन्ड्स क्लब भेट्रान काठमाडौं, चितवन भेट्रान र बिराटनगर भेट्रान क्लबको समेत सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल असोज ९ गते हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको तयारी गर्दै हेटौंडाको फ्रेन्डसिप भेट्रानले सिमरा भेट्रानसँग मैत्रीपूर्ण फुटबल खेलेको छ । शनिबार फ्रेन्डसिप भेट्रानको आयोजनामा हेटौंडाको फरेष्ट्री मैदानमा भएको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ । यसअघि सिमरा भेट्रानको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा फ्रेन्डसिप भेट्रानले सिमराको घरेलु मैदानमा नै पुगेर ४–३ गोलको जीत हात पारेको थियो ।