हेटौंडाः स्थानीय तहलाई भौतिक उपस्थितिमा पठनपाठन गराउन जिम्मा दिएसँगै मकवानपुरका विद्यालय सञ्चालनमा आएकोे छ । जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको पहलमा विद्यालयलाई कार्यढाँचा पेश गर्न स्थानिय तहले आग्रह गरिएको थियो । विद्यालयले कार्यढाँचा पेश गरेसँगै भौतिक उपस्थितिमा आइतबारबाट पठनपठान सुरु भएको हो ।
हेटौंडा-४ स्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा भन्नुहुन्छ- ‘पहिलो दिन करिब ५० प्रतिशत विद्यार्थी उपस्थित भएका छन् ।’ आइतबार कक्षा १२ को बिहान ६ बजे, ईसीडीदेखि ५ सम्मको बिहान १० बजे र कक्षा १० को दिउँसो १ बजेदेखि पठनपाठन गरेको प्रधानाध्यापक बैठाले बताउनुभयो । २ हजारभन्दा बढि विद्यार्थी अध्ययन गरिरहेका विद्यालय भएकाले ३ सिफ्टमा कक्षा सञ्चालन गरिएको बताउनुभयो । एक घण्टी ४० मिनेटको दरले ४ घण्टामात्र पढाइ भएको बताउनुभयो ।
एक कक्षामा वैकल्पिक शिक्षण सिकाईअन्तर्गत् ३६ जना जोडिएको बताउनुभयो । भौतिक उपस्थितिमा पठनपाठन हुँदा पहिलो दिन २१ जनामात्र पढ्न आएको बैठाले जानकारी दिनुभयो । ४ कक्षामा भने अनलाइनमा १ सय ५० जना जोडिएको बताउनुभयो । यसैगरी पहिलो दिन भौतिक उपस्थितिको पढाइमा ५४ जनामात्र विद्यार्थी उपस्थित भएको बताउनुभयोे ।
यस्तै, सोमबार कक्षा ६ र ७ दिउँसो १ बजे, कक्षा ८ र ९ को बिहान १० बजे पढाइ हुने बताउनुभयो । आधुनिक राष्ट्रिय माविले कक्षागत तहअनुसार पढाइ सुरु गरिएको उहाँले बताउनुभयो । पहिलो दिन विद्यार्थीको उपस्थिति न्यून भएको र संख्या बढ्दै गएमा जोरबिजोर प्रणालीअनुसार पठनपाठन हुने प्रधानाध्यापक बैठाले बताउनुभयो ।
हेटौंडा-४ कै भूटनदेवी माविमा पहिलो दिनको भौतिक उपस्थितिमा पठनपाठन हुँदा ३० प्रतिशतमात्र विद्यार्थी उपस्थित भएको भूटनदेवी माविका शिक्षक खडानन्द चौलागाईंले जानकारी दिनुभयो । विद्यार्थीको रोल नम्बरको आधारमा जोरबिजोर प्रणालीअनुसार पठनपाठन भइरहेको उहाँले बताउनुभयो । प्रत्येक कक्षामा २५ जनाको दरले विद्यार्थी राखिएको भन्दै सुरुमा न्यून मात्रामा विद्यार्थी उपस्थित हुँदा एक सिफ्टमा कक्षा सञ्चालन गर्ने गरी कक्षा १ देखि १० सम्मकै विद्यार्थी आइतबारबाट पढ्न बोलाएको उहाँले बताउनुभयो ।
अहिले दैनिक ४ घण्टीमात्र विद्यालयमा पढाइ हुने चौलागाईंले बताउनुभयो । यदि परिस्थिति सहज भएमा सबै विषयलाई समेट्ने गरी पूरा घण्टी पढाइ हुने उहाँले जानकारी दिनुभयो । दुई कक्षामा ३५ विद्यार्थीमध्ये १२ जनामात्र पहिलो दिन उपस्थित भएको शिक्षक चौलागाईंले जानकारी दिनुभयो । यसैगरी कक्षा ७ मा दुई सेक्सन रहेको र एउटा सेक्सनमा ३५ जना विद्यार्थीमा १४ उपस्थित भएको बताउनुभयो । कोभिडसम्बन्धी विद्यार्थीलाई सचेत गरी एक बेन्चमा दुई जना विद्यार्थी राखेर पढाइ भएको उहाँले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकामा ७७ सामुदायिक र ४६ संस्थागत विद्यालय रहे पनि उपमहानगरभित्र भएका सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै विद्यालय सञ्चालन गरिएको छ । विद्यालयले नै विद्यार्थीलाई अनिवार्य मास्क, भौतिक दुरी कायम, हातमुख धुने र सेनिटाइजरको व्यवस्थापन गरी विद्यालय सञ्चालन सुरु गरिएको हो । स्थानीय तहको अनुगमन हुनेगरी विद्यालय सञ्चालन कार्यढाँचा निर्माणपछि मकवानपुरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको बताइएको छ ।