मकवानपुरमा अब सबै क्षेत्र सहज बन्दै गएको छ । कोरोना महामारीबाट प्रभावित भएको समाज विस्तारै खुला हुँदै गएको हो । महामारीले बन्द भएको समाजिक गतिविधि सहज बनाउने प्रयास जारी छ । करिव डेढ वर्षदेखि प्रताडित बनेको नेपाली समाज अब भने कोरोनासँगै बाँच्नुपर्ने अवस्थामा पुगेको छ । भागेर हैन सँगसँगै बाँच्ने कलाको विकास आजको आवश्यकता हो । विश्व समाजले पनि त्यही गर्दे आएको छ । विज्ञानको चमत्कारमा सफल भएका पश्चिमा देशहरु पनि कोरोनासँगै बाँच्ने प्रयासमा छन् । यही अभ्यास नेपाली समाजले पनि गर्नु पर्नेछ । रोगले भन्दा भोकले मर्ने अवस्था भएपछि विकल्पमा कोरोनासँगै होशियारी हुँदै बाँच्ने उपायको खोजी गर्ने क्रममा सबै क्षेत्र खुला भएका छन् ।

विगत एक डेढ महिनादेखि धेरै क्षेत्र खुला भइसकेको थियो । तर शैक्षिक संस्था र सिनेमा हल बन्द भइरहँदा आलोचना बढेपछि सरकारले आफ्ना निर्णयहरुलाई फराकिलो बनाउने क्रममा विद्यालय तथा सिनेमा हलसमेत खोल्न अनुमति दिएको छ, तर अझै पनि केही शर्तहरु छन् । सिनेमा हल उपत्यकाभित्र मात्र खुला गर्ने कुरामा हल सञ्चालकहरुले असहमति जनाएकाले बन्द नै छन् । उपत्यकाका हलमा कोरोना नहुने र मोफसलमा कोरोना अझै बाँकी छ भन्ने तर्क युक्तिसंगत देखिँदैन । यस्तै विद्यालयहरु पनि स्थानीय तहसँगको सहमतिमा खोल्नुपर्ने व्यवस्था गरिएको छ । जे भए पनि समाज अब कोरोनाविरुद्ध खुला हुँदै गएको छ ।

कोरोना संक्रमण केही कम देखिएपछि सामाजिक क्रियाकलाप वृद्धि भएका छन् र यो आवश्यकता पनि हो । तर यसले फेरि महामारी ननिम्त्याओस् भन्नेतर्फ समाजका प्रत्येक सदस्यको जिम्मेवारी हुन्छ । स्वास्थ्य मापदण्डको पालना अरुका लागि नभई आफ्नो स्वास्थ्यका लागि हो भन्ने सचेतना आवश्यक देखिन्छ । कसैले भनेपछि मात्र बाध्यताले मास्क लगाउने अवस्था अन्त्य गर्नु सबैको जिम्मेवारी हो । कोरोनाविरुद्धको खोप लगाएको र अरुले नै स्वास्थ्य मापदण्ड पालना गर्दा आफू सुरक्षित हुनेछु भन्ने भावनाले गर्दा भोलि अझै भयावह अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ । दवावमा वा कसैले भनेरमात्र नभई प्रत्येक व्यक्तिमा स्वास्थ्य सुरक्षाप्रतिको चासो र होशियारी आजको खाँचो हो ।

मकवानपुरमा सिनेमा हलबाहेक अन्य सबै क्षेत्र खुला भएको छ । शैक्षिक संस्थाहरु खुल्न थालेका छन् । वैकल्पिक शैक्षिक गतिविधि गरिरहेका संस्थाहरुले अब विद्यार्थीको उपस्थितिमै कक्षा सञ्चालन थालेका छन् । विद्यालयहरुले कार्ययोजना बनाई स्थानीय तहमा पेश गरेपछि सोहीअनुसार कक्षा सञ्चालनको अनुमति पाउने व्यवस्था छ । तर कतिपय विद्यालयहरुले कार्ययोजना नै पेश नगरी कक्षा सञ्चालन गरेको पाइएका छन् । कुनै पनि कुराको विधि बनाइएपछि त्यसअन्तर्गत् रहन बाध्यता हुन्छ । बाध्यकारी अवस्थाका लागि स्थानीय तहहरुले कार्यढाँचा बनाउन भनेका हुन् । पालिकाहरुले पनि कार्यढाँचा पेश गर्नासाथ अनुमति दिने भन्दा ढाँचाअनुसारको व्यवस्थापन छ वा छैन भन्ने कुराको यकिन गरेरमात्र कक्षा सञ्चालन गर्न दिनु उपयुक्त हुन्छ । तबमात्र कोरोनाविरुद्धको अभियान सफल हुनसक्छ, नत्र परिस्थिति सोचेभन्दा अन्यथा आउने खतरा यथावत छ ।