हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशमा देखिएको राजनीतिक परिवेशबारे छलफल गर्न बैठक बोलाएको कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले बताउनुभयो ।

प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर हटाएर कांग्रेस, माओवादी र समाजवादीको नयाँ सरकार बनाउने भएको हो । प्रदेशमा समाजवादी पार्टीले आइतबारबाट आधिकारिकता पाएको छ । कांग्रेसको २२, माओवादीको २३ र समाजवादीको १३ सांसद गरेर ५८ सांसद हुनेभएपछि गठबन्धनको सरकार प्रदेशमा बन्न लागेको हो । प्रदेशमा बहुमत पुग्न ५५ सांसद आवश्यक पर्दछ । बागमती प्रदेशमा नेकपा एमाले अब प्रमुख प्रतिपक्षको भूमिकामा देखिनेछ । नेकपाको प्रदेशमा ४३ सांसद रहेको छ । प्रदेशमा कुल १०९ सांसद छन् ।