हेटौंडाः नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत मकवानपुरका विभिन्न वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका सचेत नागरिक युवा समूहका पदाधिकारीहरुलाई सम्मान गरिएको छ । सचेत नागरिक युवा समूहको आयोजनामा बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
मुलुकमा नागरिक अधिकारसहितको लोकतन्त्र स्थापना गर्ने प्रमुख राजनीतिक दलमा आवद्ध भई अग्रसर सचेत नागरिक युवा समूहका पदाधिकारीहरु पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरको समितिमा सहभागी हुने, प्रतिनिधि चयन गर्ने भूमिकामा रहने भएकोले बधाईसँगै आगामी दिनका जिम्मेवारी र चुनौतिप्रति सचेत रहन आग्रह गर्दै बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरिएको सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका सचेत नागरिक समूह मकवानपुरका सल्लाहकार सविन भट्टाचार्य, उपाध्यक्ष शर्मिला श्रेष्ठ, सचिव चुडाराज उप्रेती, सदस्यहरु विनोद शर्मा, प्रदीप कँडेल र सञ्जीव श्रेष्ठलाई सम्मान गरिएको हो । सम्मान ग्रहणपछि शर्मिला श्रेष्ठ र प्रदीप कँडेलले राजनीतिक दलमा आवद्ध भएर नागरिकलाई सचेत गराउने र मुलुकको विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सचेत नागरिक युवा समूहका कोषाध्यक्ष नवीन जोशीको संयोजनमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा सचेत नागरिक युवा समूहका सल्लाहकार अनल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।