हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, धमिलेमा पनि सहकारीमार्फत तरकारी तथा फलफुलबालीमा अनुदान कार्यक्रम सुरु भएको छ । आइतबार धमिले कृषि सहकारी संस्था लिमिटेडमार्फत किसानलाई तरकारी तथा फलफुल बालीमा अनुदान वितरण गर्न सुरु गरेको हो ।
पहिलो दिन किसानले उत्पादन गरेका ५२ क्रेट गोलभेडा संकलन भएको थियो । मकवानपुरगढी–३, धमिलेमा अहिले गोलभेँडा प्रमुख तरबारीबालीको रुपमा रहेको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । धमिलेका किसानले अहिले काउली, बन्दा, भ्यान्टा, भेँडे खुर्सानी, फर्सी र सागका बेर्ना तयार पारिरहेको पनि चौधरीले बताउनुभएको छ ।
यसअघि भदौ ५ गतेबाट मकवानपुरगढी–२, कुर्लेबाट तरकारी तथा फलफुलबालीमा अनुदान वितरण कार्यक्रम सुरुवात गरिएको थियो । मकवानपुरगढी–२, कुर्लेस्थित कुर्ले कृषि सहकारी संस्था लिमिटेडले दुईसातामा ३ हजार केजी तरकारी विक्री गरिसकेको छ ।
मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७८/७९ मा तरकारी तथा फलफुलबालीमा किसानलाई प्रतिकेजी एक रुपैयाँ र सहकारीलाई एक रुपैयाँ अनुदान दिन सुरु गरेको हो । यसअघि गत आर्थिक बर्ष २०७७/७८ देखि खाद्यान्न बालीमा किसानलाई प्रतिकेजी दुई रुपैयाँ र सहकारीलाई प्रतिकेजी दुई रुपैयाँ अनुदान दिन सुरु गरेको थियो ।
सहकारीका अध्यक्ष नवराज सञ्जेलको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाका शाखा प्रमुखहरु, सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु, कृषक र व्यवसायीको पनि उपस्थिति रहेको थियो । अनुदान कार्यक्रम कार्यान्वयनका लागि पालिकाभित्रका ७ वटा सहकारी संस्था सूचीकृत भएका छन् ।