शिक्षकको स्वागत तथा विदाई कार्यक्रमपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा शिक्षकहरूको स्वागत तथा बिदाइ कार्यक्रम भएको छ । सरस्वती आधारभूत विद्यालय त्रिभुवन माविमा गाभिएपछि सो विद्यालयबाट त्रिभुवन माविमा आउनु भएका शिक्षकहरू तथा अन्यत्र विद्यालयबाट सरुवा भई आउनु भएका शिक्षकहरूलाई स्वागत गरिएको छ ।

सरस्वती आधारभूत विद्यालयबाट आउनु हुने शिक्षकहरू सीता सापकोटा तथा रिता लामिछाने र कार्यालय सहयोगी कमली थापालाई विद्यालयमा स्वागत गरिएको छ । यसैगरी कालिका मावि नामटारबाट सरुवा भई आउनु भएका मावि सामाजिक शिक्षक रामकुमार बर्तौला, नयाँ नियुक्ति पाउनुभएकी बालविकास शिक्षक मनिषा पौडेल र कार्यालय सहयोगी भवानी बस्ताकोटीलाई पनि विद्यालयमा स्वागत गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद भण्डारीको सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेवानिवृत्त हुनु भएका शिक्षक केदार प्रसाद बिडारी र प्रेम शर्मा सापकोटालाई बिदाइ गरिएको छ । बिडारीले त्रिभुवन माविमा २० बर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो भने सापकोटाले पनि लामो समय विद्यालयमा सेवा गर्नुभएको थियो ।

बिदाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीले त्रिभुवन मावि भौतिक रुपमा र शैक्षिक रुपमा सवल रहेकाले त्यसको निरन्तरताका लागि सधैँ विद्यालय प्रयत्नशील रहेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद भण्डारी र व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीले विदाई भएर जानुहुने शिक्षकलाई दोसल्ला, टोपी तथा कदरपत्र प्रदान गर्नुभएको छ । कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक सङ्घकी सदस्य देवकी लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।