हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले प्रधानाध्यापक (प्रअ)हरुसँग विभिन्न विषयमा छलफलका लागि बैठक बोलाएको छ । उपमहानगरले शुक्रबार सूचना जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई बैठकमा उपस्थितिको लागि आग्रह गरेको हो ।

आइतबार सामुदायिक र सोमबार संस्थागत विद्यालयका प्रअहरुको बैठक बोलाएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।
उपमहानगरका विद्यालयको कुनकुन क्षेत्रमा कोरोना भाइरस संक्रमणको जोखिमबारे छलफल गर्न प्रअहरुलाई उपस्थितिको लागि आह्वान गरेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत खड्काले बताउनुभयो । भौतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि कुनकुन विद्यालयमा सम्भव छ भनेर यकिन गरिने उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालन कार्यविधि ढाँचाअनुसार विद्यालय सञ्चालन गरिनुपर्ने भएकाले प्रअहरुसँग छलफलका लागि बैठक बोलाएको उहाँले जानकारी दिनुभयो । यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेको थियो । सोहीअनुरुप स्थानीय तहले विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।