हेटौंडाः सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको तयारी अनुरुप बन्द प्रशिक्षणका क्रममा हेटौंडामा रहेको झापा एफसीले खेलाडीहरुलाई कोरोना बिरुद्धको खोपको व्यवस्था गरेको छ । टिमका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुले शुक्रबार हेटौंडामा कोरोना बिरुद्धको खोप लगाएका हुन् ।

शुक्रबार हेटौंडा–२ मा रहेको बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रबाट २१ जना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी २५ जनाले खोप लगाएका क्लबका जेनेरल सेक्रेटरी सुजन गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलाडीहरुले अनिवार्य रुपमा खोप लगाउन पर्ने नियम बनाएका कारण खेलाडीहरुलाई खोप लगाइएको उहाँले बताउनुभयो । एन्फाको अनुरोधमा स्वास्थ्य मन्त्रालयले खेलाडीहरुलाई नजिकको फुटबल संघको माध्यमबाट खोपको व्यवस्था गरिउको जनाइएको छ ।

कोरोना भाइरस विरुद्धको खोप लगाइसकेपछि सामुहिक तस्बिर खिच्दै झापा एफसीका खेलाडीहरु ।

खेलाडीहरुलाई सहजताको लागि एक मात्रामात्र लगाए पुग्ने भएकाले जोन्सन एण्ड जोन्सन खोप लगाइएको पनि गौतमले जानकारी दिनुभयो । २० गतेसम्म हेटौंडामा बन्द प्रशिक्षणमा रहने झापा एफसीले २५ गते प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।