हेटौंडाः आजबाट नेपाली कांग्रेसको वडा तहको महाधिवेशन सुरु हुँदैछ । कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत् गाउँ-नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गतेलाई तोकेको छ ।
मकवानपुर जिल्लाको १०२ वडामा भने भाद्र २० गते आइतबारबाट मात्रै महाधिवेशन हुने कांगे्रस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछानेले जानकारी दिनुभयो । केन्द्रबाट खटाएको मुख्य जिल्ला निर्वाचन अधिकृत अधिवक्ता गोपी शर्मा सुवेदी हेटौंडा आइपुगेसँगै मकवानपुरमा पार्टी सभापति, पदाधिकारी, सल्लाकार, सदस्यहरुसँगको छलफलले भाद्र २० गते अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।
भाद्र १८ गते महाधिवेशन गर्न तयारी नपुगेको भन्दै कांग्रेस मकवानपुरले २ दिन पछाडि गर्न लागेको हो । अहिले तयारी अन्तिम चरणमा पुगेको भन्दै पार्टी प्रवक्ता कोइरालाले बिहीबार र शुक्रबार २ दिन पार्टीका पदाधिकारी, सदस्य तथा निर्वाचनमा जाने अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृतले प्रशिक्षण दिनुहुने बताउनुभयो । महाधिवेशनबारे सरसल्लाह भइरहेको उहाँको भनाई छ ।
नेपाली कांग्रेस मकवानपुरले आज १०२ वडाको निर्वाचन अधिकृत नियुक्त गर्नेछ । उनीहरुलाई २ दिनसम्म महाधिवेशनबारे प्रशिक्षण गरेर नियुक्त गर्न लागिएको प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँका अनुसार आजैबाट नियुक्त भएका निर्वाचन अधिकृतहरु टाढाका स्थानहरुमा जाने र नजिकका वडामा भाद्र १९ गतेसम्म पुग्ने बताउनुभयो । सबै वडामा एक दिनअगावै निर्वाचन अधिकृतहरु पुगिसक्ने उहाँको भनाई छ ।
५३ सय थपिए कांग्रेस क्रियाशील सदस्य
मकवानपुरमा ५३ सय जना नयाँ क्रियाशील सदस्यहरु नेपाली कांग्रेसले थप गरेको छ । कांग्रेस केन्द्रले यसअघि ५३ सय नयाँ क्रियाशील सदस्यहरु र ४३ सय ५० जना नवीकरण गरेकाहरुको सूची सार्वजनिक गरिसकेको छ ।
मकवानपुरमा अब साढे ९ हजार कांग्रेसको क्रियाशील सदस्य भएको कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार सबैभन्दा धेरै मकवानपुरको हेटौंडा उपमहानगरमा क्रियाशील सदस्य छन् । यस्तै गाउँपालिकाका केही वडामा मात्र न्यून क्रियाशील सदस्यहरु रहेको उहाँको भनाई छ ।
मकवानपुरमा भाद्र २० गते आइतबारबाट अधिवेशन सुरु हुँदैछ । महाधिवेशनले जिल्लामा १७ सय २ जना प्रतिनिधि चयन गर्ने उहाँले बताउनुभयो । वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचित सदस्यमध्ये कोषाध्यक्ष एक हुने प्रवक्ता कोइरालाले बताउनुभयो । नगरका वडामा २५ सदस्य, गाउँपालिकाका वडामा १५ सदस्य निर्वाचित र त्यसमा २० प्रतिशत सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।
३३ प्रतिशत महिलाको सिट सुरक्षित गरिएको भन्दै समावेशी कोटा पनि १० प्रतिशत जनसंख्या पुगेको जातिलाई अनिवार्य समावेशी कोटामा आउने सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अधिकांश क्षेत्रमा युवाहरुले प्रतिनिधत्व गर्ने देखिएको छ । कांग्रेस क्रियाशील सदस्यमा नयाँ सदस्यता पाउनुभएका मकवानपुरको बकैया–१ का युवा बुद्ध ब्राम्हले वडा सभापतिमा आफ्नो दाबी गर्नुभएको छ । बकैया गाउँपालिका वडा नम्बर १ मा ४८ जना नयाँ क्रियाशील सदस्य थपिएका छन् । त्यस्तै २ जनाले आफ्नो क्रियाशील सदस्यता नवीकरण गराएका छन् । आफ्नो वडाको समग्र विकास गर्न र पार्टीको उच्च नेतृत्व तहमा युवाहरु पुग्न आवश्यक भएकाले आफ्नो दाबी वडा सभापति भएको ब्राम्हले बताउनुभएको छ ।
युवाहरुको प्रतिनिधि बढाउन आवश्यक भएको कांग्रेस कार्यबाहक सभापति विष्णु लामिछानेले बताउनुभएको छ । उहाँले युवाहरु अब पार्टीको नेतृत्वसँगै वडाको विकासमा पनि सरिक हुुनुपर्ने बताउनुभएको हो । यही भाद्र २३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तयारी नेपाली कांग्रेस मकवानपुरले गरेको छ । कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलको नेता ईन्द्रबहादुर बानियाँले भने प्रदेश सभापतिमा आफ्नो दाबी घोषणा गर्नुभएको छ । समग्र बागमती प्रदेशको १३ जिल्लाको प्रतिनिधित्व गर्न योग्य भएकाले प्रदेश सभापतिमा आफ्नो दाबी रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेशको ९ जिल्लामा मात्र नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसले बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवाबाहेकका दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर र ललिपुरको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । क्रियाशील सदस्यको नामावली प्रकाशन भएको जिल्लाहरुमा मात्रै आजबाट महाधिवेशन हुने भएको हो । नेपाली कांग्रेसले अब २१ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न बाँकी छ ।