श्रीधर पोखरेल ।

हेटौंडाः नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा श्रीधर पोखरेलले जिम्मेवारी पाउनुभएको छ । बिहीबार भएको जिल्ला भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले जिल्ला कमिटी घोषणा गर्नुभएको छ । केन्द्रीय सदस्य सिग्देलले उपाध्यक्षमा मीना कुमारी लामा र सचिव विष्णु दाहाललाई जिम्मेवारी दिइएको घोषणा गर्नुभएको छ ।

नेकपा एमालेसँग विभाजित भएपछि बिहीबार नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा गरिएको हो । नेकपा एकीकृत समाजवादीले मकवानपुर जिल्ला कमिटी २ सय ५५ सदस्यीय रहेको बताइएको छ । पार्टी विभाजित हुँदा नेता, कार्यकर्तालाई निर्णय लिन गाह्रो हुने उल्लेख गर्नुहुँदै केन्द्रीय सदस्य सिग्देलले ढिलोचाँडो सबै नेकपा समाजवादीमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । पालिकास्तरका कमिटी र भातृ तथा जनवर्गीय संगठनहरु क्रमशः निर्माण गरिने नेता सिग्देलले बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको भेलामा नेता केदार न्यौपानेको पनि उपस्थिति रहेको थियो ।