हेटौंडाः संघीय राजधानी रहेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको विषयमा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको ध्यानाकर्षण भएको छ । मुख्यमन्त्री शाक्यको अग्रसरतामा प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकारीको उपस्थितिमा आज बिहीबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडामा फोहोर व्यवस्थापनसम्बन्धमा छलफल भएको हो ।

बिहीबार बिहान बागमती प्रदेश सरकारको भौतिक विकास मन्त्रालयको सभाकक्षमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सहभागीहरु ।

सरोकारवालाको उपस्थितिमा भएको बैठकले काठमाडौं उपत्यकाको फोहोर तीनदिनभित्र उठाउने गरी काम गर्ने निर्णय भएको छ । फोहोर व्यवस्थापनको विषयमा छलफलका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् बागमती प्रदेश सभा सदस्य केशव स्थापित, नुवाकोट जिल्लाबाट निर्वाचित हुनुभएका बागमती प्रदेश सभा सदस्य बद्रि मैनाली, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको थियो ।

छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्ने मध्यकालिन र दीर्घकालिन योजना बनाउन बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ भने ल्याण्डफिल्ड साइटसम्म जाने बाटो मर्मत तथा जग्गा व्यवस्थापन गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । यस्तै बागमती प्रदेशको राजधानी हेटौंडाको पनि फोहर व्यवस्थापनको अवस्थाका बारेमा छलफल भएको थियो ।