मकवानपुरको राक्सिराङ गाउँपालिकामा वैकल्पिक सिकाई सहजीकरणका लागि टोलटोलमा विद्यार्थी भेला गराई पढाउने निर्णय गरेको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा अध्ययनप्रति रुचि घट्दै गएपछि गृहकार्य दिन विद्यालयमा बोलाउन थलिएको थियो । तर घरमै बस्ने बानी परेपछि विद्यार्थीहरु विद्यालयमा आउन अरुचि देखाएका छन् भने अभिभावकले पनि कोरोनाको डरका कारण पठाउन नमानेपछि वैकल्पिक सिकाई सहजीकरण सुरु भएको छ । पालिकाभित्रका प्रधानाध्यापकहरुसँगको परामर्शले नै यस्तो सिकाई विधि अपनाउन थालिएको हो । अध्ययनबाट पूरै टाढा रहेको अवस्थामा विद्यार्थीका लागि टोलटोलका सिकाई विधि उपयोगी हुनसक्ने देखिन्छ । लामो समयदेखि घरमै बस्ने बानी परेका बालबालिकाका लागि पढाईप्रति अभिरुचि बढाउनु अहिलेको खाँचो हो ।
शहरबजारमा जस्तो गाउँको दूरदराजमा अनलाइन कक्षा सञ्चालन सम्भव छैन । जसले गर्दा सरकारले भन्ने गरेको वैकल्पिक सिकाई अनलाइन गाउँघरमा पटक्कै प्रभावकारी हुन सक्दैन । विद्यालय जानसमेत घण्टौं हिँड्नुपर्ने क्षेत्रका बालबालिकाले अनलाइन विधिबाट अध्ययन गर्ने मौका पाउने सम्भावना अझै बनेको छैन । त्यसैले उनीहरुलाई गृहकार्य दिनकै लागि भए पनि विद्यालयमा बोलाउँदा नआउने भए पनि नयाँ तरिकाको अभ्यास राक्सिराङका विद्यालयहरुले गरेका छन् । जुन अन्य पालिकाहरुका लागि पनि उदाहरण बन्न सक्ने देखिन्छ । घरकै नजिक भेला हुन सहज हुने भएपछि टोलमा विद्यार्थीको सहभागिता बढ्ने देखिन्छ । प्रत्यक्ष उपस्थितिमा भएको अध्ययन साना उमेरका बालबालिकाका लागि अनलाइन सिकाईभन्दा प्रभावकारी हुनेछ ।
राक्सिराङ शैक्षिक दृष्टिकोणबाट पछाडि परेको पालिका हो । तर यही पालिकाले अध्ययनका लागि नयाँ विधिको प्रयोग सुरु गरेर अन्य पालिकाहरुलाई सचेत गराएको छ । हप्तामा २ दिन विद्यालयमा विद्यार्थीलाई उपस्थित गराई गृहकार्य दिने र सिकाउने क्रममा आधा विद्यार्थी पनि उपस्थित नभएपछि समुदायको वडा कार्यालय, क्लब भवन तथा अन्य उपयुक्त स्थानमा नै विद्यार्थीको समूह बनाएर पठनपाठन गर्न थालिएको छ । यो अभियानले स्थानीय अभिभावकदेखि जनप्रतिनिधि तथा सम्बन्धित निकायहरु बालकालिकाको भविष्यप्रति सचेत भएको प्रमाणित गरेको छ । यही चिन्ता संघीय शासकहरुमा आवश्यक छ । कोरोना महामारीबाट थलिएको शैक्षिक क्षेत्रमा पुगेको क्षतिको पूर्ति कसरी गर्ने भन्ने आजसम्म कुनै योजना बन्न सकेको छैन ।
कोरोना महामारी कम हुँदै गएको छ । महामारीको प्रभाव कम हुँदै गएको क्षेत्र तथा जिल्लाहरुमा भौतिक उपस्थितिमै कक्षा सुरु भएका छन् । सामाजिक जीवन सहज भइसक्दा पनि शिक्षा क्षेत्रमाथि कोरोनाको डर यथावत किन भन्ने कोणबाट पनि प्रश्न उठ्न थालेको अवस्था छ । यसलाई न्यूनीकरण गर्न तथा विद्यार्थीको अध्ययनलाई सहज बनाउनेतर्फ अब राज्यबाट पनि गम्भीरतापूर्वक सोचिनु आवश्यक छ । महामारी निमिट्यान्न हुने अवस्था छैन । अब कोरोनासँगै बाँच्नुको विकल्प नभएपछि जीवनशैलीमै परिवर्तन आवश्यक छ । प्रत्येक व्यक्तिले आफ्नो बानी व्यहोरा परिवर्तन गर्ने हो भने कारोनासँग भाग्ने भन्दा पनि सँगै बाँच्ने विधिको विकास आजको आवश्यकता हो । यसका लागि राक्सिराङ गाउँपालिकामा सुरु भएको अभियान नमुना बन्नसक्छ ।