हेटौंडाः राक्सिराङ गाउँपालिकाका विद्यालयहरुले वैकल्पिक सिकाई सहजीकरणका लागि टोलटोलमा विद्यार्थी भेला गराई पढाउने निर्णय गरेको छ । विद्यालयमा विद्यार्थीलाई बोलाएर गृहकार्य दिने तथा सिकाउने गरिएकोमा विद्यार्थीको उपस्थिति न्यून भएपछि टोलटोलमा शिक्षक गएर पठाउने निर्णय गरिएको हो ।
गत बुधबार प्रधानाध्यापकहरुसँग भएको बैठकबाट प्राप्त सुझावको आधारमा गाउँपालिकाको शिक्षा महाशाखाले टोलटोलमा विद्यार्थी उपस्थित गराई पठनपाठन गराउन अनुमति दिएको शिक्षा अधिकृत प्रदीप पराजुलीले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थी उपस्थित गराउनु उपयुक्त नभएको र विद्यार्थीको उपस्थितिसमेत न्यून भएपछि विकल्पको रुपमा समुदायकै उपयुक्त स्थान रोज्नु परेको पराजुलीले बताउनुभयो ।
हप्तामा २ दिन विद्यालयमा विद्यार्थीलाई उपस्थित गराई गृहकार्य दिने र सिकाउने क्रममा आधा विद्यार्थी पनि उपस्थित नभएपछि समुदायको वडा कार्यालय, क्लब भवन तथा अन्य उपयुक्त स्थानमा नै विद्यार्थीको समूह बनाएर पठनपाठन हुन लागेको उहाँले बताउनुभयो । भर्ना अभियानसँगै पठपाठन गराउन सरकारले दिएको निर्देशनअनुसार विद्यार्थीलाई पढाइमा जोड्दा २ महिनासम्म प्रभावकारी बन्न नसकेको पराजुलीले बताउनुभयो ।
कोरोना भाइरस संक्रमण साथसाथै वर्षात्को समयमा भौगोलिक दृष्टिले दुर्गम स्थल भएकाले बालबालिका तथा शिक्षकहरु एक ठाउँबाट अर्को ठाउँमा जान कठिनाई तथा चिप्लिएर लड्ने, पानीले भिज्ने हुँदा वैकल्पिक शिक्षण सिकाई हुन सकेको थिएन । गाउँपालिकाका १५ प्रतिशत विद्यार्थी विद्यालयको सम्पर्कबाहिर भएको बताउनुहुँदै शिक्षा अधिकृत पराजुलीले ती बालबालिका श्रममा संग्लन रहेको बताउनुभयो । अहिले लगभग ९० प्रतिशत विद्यार्थी भर्ना भएको उहाँले बताउनुभयो ।
राक्सिराङ गाउँपालिकामा ५३ वटा विद्यालय रहेका छन् । पालिकामा रहेका ५३ वटा विद्यालयका विद्यार्थीलाई पालिकाले तयार पारेको कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम र नेपाल सरकारद्वारा वितरित निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत पराजुलीले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम लागू भएको पहिलो पालिकाको कक्षा ५ सम्मका ४ हजार विद्यार्थीले पाठ्यक्रम अध्ययन गर्ने पराजुलीले बताउनुभएको छ ।
यसैगरी, भीमफेदी गाउँपालिकाका शिक्षा अधिकृत कपिलमणि पौडेलले अहिले हप्तामा २ दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर पठनपाठन गरिरहेको बताउनुभयो । वैकल्पिक शिक्षण सिकाईका क्रममा विद्यालयमा नै विद्यार्थी उपस्थित गराई गृहकार्य दिनमात्र सम्भव भएको उहाँले जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकामा निजी र सामुदायिक गरी ४९ वटा विद्यालय रहेका छन् ।
मकवानपुरका १० वटा पालिकामध्ये हेटौंडा उपमहानगरपालिकामा अनलाइन पठनपाठन अलि प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापकहरुले जनाएका छन् । तर अन्य पालिकामा इन्टरनेट पहुँच नहुँदा अनलाइन पठनपाठनमा समस्या भइरहेको छ ।