वत्सराज कोइराला

बाँसुरी बनेर मेरो अधर सुशोभित गरिदेउ ।
सुख्खा भएको छ मुटु मधुमय रस भरिदेउ ।।
अव्यक्त र अपरिभाषित छ मेरो प्रेम अझैसम्म ।
प्रणयको सुमधुर गीत गुञ्जाउन यता सरिदेउ ।।

अझै मुलतबी रहेको छ प्रणयको याचिका मेरो ।
प्रेमजल बेगर तृषित छ हृदयको वाटिका मेरो ।।
मेरो प्रस्तावमा स्वीकृति जनाई आउ करार गरौं ।
म तिम्रो कृष्ण बन्छु तिमी बनिदेउ राधिका मेरो ।।

कति पिएँ मैले ? कसरी कट्यो रात ? नसोध मलाई ।
सपनामा कति गरें तिमीसँग मिठा बात ? नसोध मलाई ।।
कहिले आँसु पिइरहें, कहिले मदिरा पिइरहें ।
कसरी हट्यो साथ ? कसरी छुट्यो हात ? नसोध मलाई ।।

याद आउँछ हरेक पल तर तिम्रो नाम लिने छैन ।
लेख्नेछु तिम्रो लागि गजल तर तिम्रो नाम लिने छैन ।।
आफैं सुनाउँछु, आफैंले सुन्छु र एक्लै हाँस्छु एक्लै रुन्छु ।
उठ्नेछ मुटुमाझ हलचल तर तिम्रो नाम लिने छैन ।।

मस्तिष्कको पर्दामा चलचित्र झैं घुमिरहेछ तिम्रा यादहरु ।
मेरो कर्णपुटमा गुञ्जिरहेछ तिम्रै प्रेमिल संवादहरु ।।
वर्षौ पुरानो हाम्रो सम्बन्ध मक्किएको छैन अझैसम्म ।
हर साँझ चल्ने पवनले ताजा बनाइरहेछ उन्मादहरु ।।