हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित नवज्योति पुस्तकालय पुनः सञ्चालनमा आउने भएको छ । पुस्तकालय पुनः सञ्चालनका लागि शनिबार भेलाको आयोजना गरी तदर्थ समिति गठन गरिएको छ ।
स्थानीयको भेलाले उत्सव ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय पुस्तकालय सञ्चालन तथा व्यवस्थापन तदर्थ समिति गठन गरिएको स्थानीय सन्तोष पराजुलीले जानकारी दिनुभएको छ । तदर्थ समितिको सदस्यमा सन्तोष सञ्जेल, अविन काफ्ले, ज्योेति पराजुली, लिला ढकाल, मनिषा भारती र निशान महर्जन चयन हुनुभएको छ । २०४७ सालमा स्थापना भएको पुस्तकालय २०५७ सालदेखि बन्द भएको थियो ।
पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा पुस्तकालय पुनः सञ्चालमा आउन लागेको हो । पुस्तकालय पुनः सञ्चालनका लागि पुस्तकालय अभियान समूहले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्नेछ । यही भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूहले हेटौंडा–१, चौकीटोलस्थित नवज्योति पुस्तकालयसँगै मकवानपुर जिल्लामा ७ वटा पुस्तकालय एकैदिन स्थापना गर्ने तयारी गरिरहेको छ ।
पुस्तकालय अभियान समूहले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा एकसाथ जिल्लाका ५ स्थानीय तहमा ७ वटा पुस्तकालय स्थापना गर्ने भनिए पनि अझै बढी संख्यामा पुस्तकालय स्थापना हुन सक्ने अभियान समूहका सदस्य रोशन खनालले जानकारी दिनुभएको छ । पुस्तकालय अभियान समूहले यसअघि जिल्लाका ५ स्थानीय तहमा ६ वटा र छिमेकी जिल्ला बाराको निजगढ नगरपालिकामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ ।